भोटेकोशीमा आएको बाढीले भत्काएका सडक र पुल मर्मत गर्न कम्तीमा ३० अर्ब रुपैयाँ लाग्ने सडक विभागको प्रारम्भिक अनुमान छ। विभागका महानिर्देशक डा. विजय जैसीले पुनर्निर्माण प्रक्रिया अघि बढेको बताए।
‘क्षतिको विस्तृत अध्ययन सुरु गरेका छौं,’ जैसीले भने। रसुवाको मितेरी पुलदेखि धादिङको मलेखुसम्मका ४१ पुलमध्ये ३५ वटा बाढीले क्षति पुर्याएको छ। तीमध्ये ३२ वटा पूर्ण रूपमा भत्किएका छन्। ६ वटा पुल भने सुरक्षित छन्।
गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक आयोजनाले बेतावत्रीदेखि टिमुरेसम्म सडक मर्मत गर्न सोमबार टेन्डर आह्वान गर्यो। इच्छुक ठेकेदारले बुधबारसम्म नुवाकोटस्थित आयोजना कार्यालयमा वा इमेलमार्फत दरभाउ पेस गर्नुपर्नेछ। ठेकेदारले पर्खाल लगाउने, सडक खन्ने, पहिरो पन्छाउने लगायत १३ काम गर्नुपर्नेछ।
उक्त खण्डमा ४० किलोमिटर सडक पूर्ण रूपमा र १० किलोमिटर आंशिक रूपमा क्षति भएको छ। बाढीले टिमुरेमा मितेरी पुल, दुई बेलिब्रिज र हाइड्रो पावरका पुल बगाएको छ।
यस्तै, नागढुंगा–मुग्लिन सडकखण्डको कृष्णभिरमा पहिरोका कारण आइतबारदेखि सडक ठप्प छ। माथिबाट ढुंगामटो खस्ने र तलबाट नदीले माटो झार्ने क्रम जारी छ। ड्रोनमार्फत सडकको अध्ययन भइरहेको छ।
कृष्णभिरको पहिरो अध्ययन गर्न पठाइएको टोलीले मंगलबारसम्म प्रतिवेदन बुझाउने महानिर्देशक जैसीले बताए। ‘कसरी बाटो खुलाउने भन्ने निर्णय भएको छैन,’ उनले भने, ‘अझै पहिरो गइरहेको छ।’
नागढुंगा–मुग्लिन सडक आयोजनाका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलका अनुसार सडक खुलाउन ५/६ महिना लाग्न सक्छ। दसैंअघि सवारीसाधन गुडाउन सम्भव नभएको उनको भनाइ छ।
पौडेलका अनुसार त्रिशूली पारी समानान्तर सडक बनाएर मलेखु–मुग्लिङ सडकको विकल्प तयार भइरहेको छ। वैकल्पिक सडकको दुरी करिब २० किलोमिटर पर्छ। दुई किलोमिटर सडकमा ट्र्याक खन्न बाँकी छ।
गत असारदेखि नै नदीले कृष्णभिरमा क्षति पुर्याउन थालेको थियो। ‘गत असारमै मर्मत गरेको भए सम्भवतः पहिरो जाने थिएन,’ विभागका एक कर्मचारीले भने।
