देशका २५ जिल्लाका साना नदीमा पानीको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, धादिङ, गोरखा, लमजुङ, डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, कैलाली र कञ्चनपुर आसपासका खोलामा बहाव बढ्ने सम्भावना छ।
यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम छ। तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
नुवाकोट र रसुवामा भने साना नदीमा बाढीको उच्च सम्भावना छ। रसुवामा पाँच दिनअघि आएको बाढीले ठूलो क्षति पुर्याएको थियो।
महाशाखाका अनुसार कोसी, नारायणी, वाग्मती, कर्णाली, महाकाली र सहायक नदीहरूको बहाव हाल सतर्कताभन्दा तल छ। भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीपछि भोटेकोसी र त्रिशूली नदीको बहाव पनि सतर्कताभन्दा तलै छ।
आगामी तीन दिनसम्म प्रमुख नदीहरूको सतह बढ्ने पूर्वानुमान छ। नारायणी जलाधारको त्रिशूली नदीको बेत्रावती क्षेत्रमा जलसतह उल्लेख्य बढ्ने बाढी पूर्वानुमान बुलेटिनमा उल्लेख छ। कोसी, कर्णाली र महाकाली जलाधारमा पनि बहाव बढ्ने अनुमान छ।
रसुवामा बाढीले बगाएका केही शव भारतको गण्डक नदीमा तैरिरहेको अवस्थामा फेला परेको छ।
