बाराको विश्रामपुरबाट अपहरणमा परेका ११ वर्षीय बालक राजेश कुमार साहको भारतमा हत्या भएको छ। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा १७ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ परेका किशोरविरुद्ध अपहरण तथा कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ।
विश्रामपुर गाउँपालिका–३ मुसहरवाका ११ वर्षीय साह गत भदौ ९ गते बिहान घरबाटै बेपत्ता भएका थिए। परिवारले सोही दिन साँझ प्रहरी चौकीमा खबर गरेपछि प्रहरीले खोजी तीव्र पारेको थियो।
भदौ ११ गते बिहान भारतको बिहार राज्यस्थित मोतिहारी जिल्लामा सिंहा नदी किनारमा बालकको शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) मिन बहादुर घलेले दिएको जानकारीअनुसार, सीसीटीभी फुटेज, स्थानीयको भनाइ र भारतीय प्रहरीसँगको समन्वयबाट १७ वर्षीय किशोरले नै बालकलाई अपहरण गरी भारत पुर्याएर हत्या गरेको खुलेको छ।
पक्राउ परेका किशोरलाई अदालतबाट ५ दिनको म्याद थप गरी हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी घलेले बताए।
