नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक साहले कार्यभार सम्हालेकै दिन ग्यासको कालोबजारी र लुकाउनेविरुद्ध सरकारले कडा एक्सन सुरु गरेको छ। शुक्रबार उपत्यकासहित विभिन्न स्थानमा छापा मार्दा हजारौं सिलिण्डर बरामद भएका छन्।
पूर्व मन्त्री गौरीकुमारी यादवले राजीनामा दिएको भोलिपल्टै सरकारले ग्यास आपूर्तिमा व्यवसायीको मिलेमतो र ठगीबारे अनुसन्धान तीव्र पारेको हो। शुक्रबार मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नरेफाँट र सामाखुशीका ग्यास बिक्रेताबाट ३७२ वटा सिलिण्डर बरामद गरेको छ। यस क्रममा दुई जना व्यवसायी पक्राउ परेका छन्।
त्यसैगरी, प्रहरीले तीनकुनेको गैरीगाउँबाट दुई ट्रकमा लोड गरिएका ७ सय सिलिण्डर पनि बरामद गरेको छ। वसुन्धारास्थित जय श्री बालाजी ग्यास स्टोरका सञ्चालकलाई ग्यास कालोबजारी गरेको आरोपमा पक्राउ गरिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति विभागले पनि उपभोक्ताबाट अस्वभाविक मूल्य असुल्ने र मिलेमतोमा ग्यास बिक्री गर्ने २ व्यवसायीलाई ६ लाख रुपैयाँ जरिवाना गरेको छ। कागेश्वरी मनोहरास्थित अनिल किराना पसल र ललितपुरको बालकुमारस्थित ग्यास पम्पलाई जनही ३ लाख रुपैयाँ जरिवाना गरिएको छ। यसअघि बिहीबार पनि भक्तपुरको सूर्यविनायक र इटाछेबाट ७५ र २८ सिलिण्डर ग्यास बरामद गरिएको थियो।
नवनियुक्त मन्त्री साहले शुक्रबार पदभार ग्रहण गरेलगत्तै उपभोक्ताले सहजै ग्यास पाउनुपर्ने बताएका थिए। उनले उद्योगीहरूसँग छलफल गरी ग्यास उद्योगलाई सहज बनाउने सम्बन्धमा आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
ग्यास बिक्रेता महासंघले पनि उपभोक्तालाई अनावश्यक मूल्य नलिन व्यवसायीहरूलाई आग्रह गर्दै विज्ञप्ति जारी गरेको छ। सरकारले तोकेको बिक्री मूल्यभन्दा बढीमा ग्यास बिक्री गर्नेलाई कारबाहीको दायरामा ल्याउन महासंघले माग गरेको छ।
