NM Khabar 12 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढी: सेनाद्वारा ४ हजार १३७ को उद्धार

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा स्थलगत उद्धार कार्य तीव्र पारेको छ। हालसम्म ४ हजार १३७ जनाको उद्धार गरिएको छ, जसमा २८३ विदेशी नागरिक छन्। प्रभावित जलविद्युत् आयोजनाका सुरुङहरूमा समेत खोजी जारी छ।
Sanjay Karki
Sanjay Karki
11 September 2026, 8:32 pm १ मिनेट पढाइ
आकार:
भोटेकोशी बाढी उद्धार
Share:

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा स्थलगत उद्धार तीव्र पारेको छ। भदौ २६ गते साँझ ५:३० बजेसम्म ४ हजार १३७ जनाको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये ३ हजार ८५४ नेपाली र २८३ विदेशी नागरिक छन्। बाढीले प्रभावित जलविद्युत् आयोजनाका सुरुङहरूमा समेत खोज तथा उद्धार जारी छ।

रसुवागढी जलविद्युत् आयोजनामा कम्पोजिट क्विक रियाक्सन टीम र विदेशी नागरिकसहितको टोलीले खोजी गरिरहेको छ। लाङटाङ हाइड्रोमा सेनाको टोलीले सुरुङभित्र खोजी जारी राखेको छ। चिलिमे हाइड्रोमा विदेशी नागरिकसहितको टोलीले सुरुङभित्रको लेदो हटाउँदै छ। भारी उपकरण लैजान पहुँचमार्ग निर्माणपछि खोजी तीव्र पारिने सेनाले जनाएको छ।

माथिल्लो त्रिशूली–१ अन्तर्गत हाकुबेशीस्थित अडिट–१ सुरुङको करिब २०० मिटर आसपास ड्रोनमार्फत रेकी गरिएको छ। हालसम्म केही फेला नपरेको Nmkhabarलाई स्रोतले पुष्टि गर्‍यो। त्रिशूली–३ ए को पावरहाउस र सुरुङ क्षेत्रमा संयुक्त टोलीले खोजी गरिरहेको छ। त्रिशूली–३ बी मा पनि संयुक्त टोली परिचालन गरिएको छ।

सेनाले रसुवा र नुवाकोटको विभिन्न स्थानमा पैदल गस्ती गरी खोजी गरिरहेको छ।

स्याफ्रुबेसीस्थित होल्डिङ सेन्टरमा सञ्चालित स्वास्थ्य शिविरबाट शुक्रबार ५४ जनाले सेवा लिए। त्रिशूली र धुन्चेमा सेनाले स्थापना गरेको उपचार केन्द्रबाट शुक्रबार ८५ जनाले स्वास्थ्य सेवा पाए। हालसम्म ३ हजार ६६५ जनाले स्वास्थ्य सेवा प्राप्त गरिसकेको सेनाले जनाएको छ।

रसुवाको टिमुरेदेखि चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ८ हजार ७ सयभन्दा बढी सैनिक परिचालित छन्। उनीहरू उद्धार, शव व्यवस्थापन, राहत ढुवानी, सडक सञ्चालन र उपचारमा खटिएका छन्।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार