चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामा मधेस प्रदेशमा २५० जनाले आत्महत्या गरेका छन्। प्रदेश प्रहरी कार्यालय जनकपुरधामका अनुसार साउनमा ८८ र भदौमा १६२ जनाले ज्यान गुमाएका हुन्।
प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार अधिकांशले झुण्डिएर वा विष सेवन गरेर ज्यान दिएका छन्। सिरहा र बारामा ४६/४६ जनाले आत्महत्या गरेका छन्। सप्तरीमा ३९, रौतहटमा ३०, धनुषा र महोत्तरीमा २४/२४, सर्लाहीमा २१ र पर्सामा २० जनाले ज्यान गुमाए।
घरायसी विवाद, प्रेममा असफलता, गरिबी, बेरोजगारी र जीवनका दुःख कष्ट सहन नसक्नु आत्महत्याका मुख्य कारण हुन्। आत्महत्या गर्नेहरू १६ देखि ७० वर्षसम्मका छन्। प्रहरीका अनुसार १८ देखि ४० वर्ष उमेर समूहमा यो प्रवृत्ति बढी देखिन्छ।
महिला अधिकारकर्मी सरस्वती मण्डल महिलामाथि हुने हिंसाका कारण पुरुषको तुलनामा महिलाले बढी आत्महत्या गर्ने बताउँछिन्। आत्महत्या गर्नेमा सामान्य आर्थिक अवस्था भएका व्यक्ति बढी छन्।
प्रहरी वरिष्ठ उपरीक्षक ढकालले केही व्यक्तिले हाम फालेर आत्महत्या गर्ने गरेको बताए। सामान्य विवादमा समेत विष सेवन गर्ने प्रवृत्ति समाजका लागि चुनौती बनेको छ।
नागरिक समाजका अगुवा रामकुमार साह यस किसिमको अपराध रोक्न समाजका सबै पक्ष एकजुट हुनुपर्ने बताउँछन्। उनले मनोसमाजिक परामर्श र मनोचिकित्सक सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए।
