NM Khabar 20 September 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

गण्डकीका पूर्वमन्त्री पाण्डे घुस प्रकरणमा मुछिए: ३० लाख मागेको अडियो सार्वजनिक

गण्डकी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेमाथि अस्पताल नवीकरणका लागि ३० लाख घुस मागेको आरोप लागेको छ। यस प्रकरणमा मन्त्रालयका सचिव युवानिधि बसौला र मन्त्रीका स्वकीय सचिव यादव पौडेल पनि मुछिएका छन्। एमालेले घटनाको निष्पक्ष छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ।
Arjun Basnet
Arjun Basnet
20 September 2026, 5:32 pm १ मिनेट पढाइ
आकार:
पूर्वमन्त्री घुस प्रकरण
Share:

गण्डकी प्रदेशका पूर्वस्वास्थ्य मन्त्री लक्ष्मणबहादुर पाण्डेमाथि अस्पताल नवीकरणका लागि ३० लाख घुस मागेको आरोप लागेको छ। पोखरा–३ नदीपुरस्थित पद्मनर्सिङ होम प्रालिले अस्पताल स्तरोन्नतिको नवीकरण गर्न पाण्डेले घुस मागेको श्रव्य दृश्य सार्वजनिक भएको हो।

यस प्रकरणमा मन्त्रालयका सचिव युवानिधि बसौला र मन्त्रीका स्वकीय सचिव यादव पौडेल पनि मुछिएका छन्। पाण्डे नेकपा एमालेबाट नवलपुर क्षेत्र नम्बर २ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य हुन्। कांग्रेसका सुरेन्द्रराज पाण्डे नेतृत्वको सरकारमा उनी ४ महिना ११ दिन स्वास्थ्य मन्त्री बनेका थिए।

‘गण्डकी छड्के’ नामक सञ्चार माध्यमबाट सार्वजनिक भएको अडियोमा मन्त्री पाण्डे, सचिव बसौला र स्वकीय सचिव पौडेलले मिलेर अस्पतालको स्तरोन्नति नवीकरणका लागि रकम मागेको खुलेको छ। ५० शय्याको अस्पताललाई १०० शय्यामा स्तरोन्नति गर्ने नवीकरण प्रक्रियामा विभिन्न कागजात नपुगेको भन्दै ६–७ महिनादेखि फाइल अड्काइएको थियो।

अस्पतालका अध्यक्ष यादव गौतमका अनुसार नवीकरणका लागि पटकपटक ताकेता गर्दा मन्त्री, सचिव र स्वकीय सचिवले घुस मागेका हुन्। अडियोमा मन्त्री पाण्डेले ‘ल अब ३० लाखमा पक्का भयो, बाँकी कुरा मेरो स्वकीय सचिव यादव पौडेलसँग गर्नू’ भनेको सुनिन्छ।

त्यसपछि स्वकीय सचिव पौडेलले अस्पतालका अध्यक्ष गौतमसँग डिल गर्न थाले। सुरुमा ३० लाख मागिएकोमा बार्गेनिङ गर्दै २५ लाखमा कुरा मिलेको अडियोले पुष्टि गर्छ। यसअघि १० लाख रुपैयाँ नगद बुझाइएको स्रोतले बताए पनि त्यसको औपचारिक पुष्टि भएको छैन।

२५ लाखमा कुरा मिलेपछि अध्यक्ष गौतमले नवीकरण प्रमाण पत्र लिएर आउन र पैसा लैजान आग्रह गर्दा स्वकीय सचिव पौडेलले घटना सार्वजनिक हुनसक्ने भन्दै गौतमलाई नै कार्यालय नजिक आउन आग्रह गरेका थिए।

स्वकीय सचिव पौडेलले मन्त्री पाण्डेकै निर्देशनमा आफूले डिल गरेको बताएका छन्। ‘मन्त्री पाण्डेले सचिव बसौलाले पैसाको डिल गरेको र सोही अनुसार तिमीले पनि डिल गर्नु भनेपछि मैले आर्थिक लेनदेनको डिल गरेको हुँ,’ उनले भने, ‘तर डिल गरे पनि पैसा आफूले नलिनू भनेकाले लिइनँ।’ उनले अस्पतालले मापदण्ड पूरा गरेकाले नवीकरणका लागि मात्रै डिल गरिएको दाबी गरे।

तत्कालीन मन्त्री पाण्डेले पनि आफूले पैसा नलिएको दाबी गरेका छन्। कागजात अगाडि बढाउनका लागि डिल गर्न भनेको तर पैसा नलिनू भनेको उनको भनाइ छ। तर, २५ लाखको चेक अस्पतालको खाताबाट स्वकीय सचिव पौडेलको नाममा काटिएको अडियोमा देखाइएको छ।

मन्त्री पाण्डे र स्वकीय सचिव पौडेलले घुस मागेको मुख्य नाइके मन्त्रालयका सचिव युवानिधि बसौला भएको आरोप लगाएका छन्। पाण्डेका अनुसार सचिव बसौलाले फाइल रोकेर आर्थिक लेनदेनको डिल गरेका थिए। स्वकीय सचिव पौडेलले पनि सचिव बसौलाले २५ लाख नभई नवीकरण नहुने बताएपछि आफूले डिल गरेको बताए।

सचिव बसौलाले भने घुस खाएको प्रमाणित गर्न चुनौती दिँदै कानुनसम्मत काम गरेको दाबी गरेका छन्। विवादपछि उनी कार्यालय जान छाडेर बिरामी बिदामा बसेका छन्।

यसैबीच, नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलले घुस काण्डको निष्पक्ष छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेको छ। समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार