लागुऔषध मुद्दाका प्रतिवादीलाई धरौटीमा छुटाइदिने प्रलोभन देखाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँको तारकेश्वर नगरपालिका–८ का ४२ वर्षीय हरिराम गिरी र नुवाकोटको सूर्यगढी गाउँपालिका–६ का ३१ वर्षीय अजय थापा छन्।
उनीहरुले लागूऔषध मुद्दामा थुनामा रहेका एक प्रतिवादीलाई धरौटीमा छुटाउन सहयोग गर्ने भन्दै पीडितका आफन्तबाट ४ लाख ७९ हजार रुपैयाँ नगद र ७ थान खाली चेक असुलेको प्रहरीले जनाएको छ।
प्रहरी वृत्त सिंहदरबारको टोलीले काठमाडौं जिल्ला अदालत परिसरबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका दुवैविरुद्ध ठगी कसुरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको छ। उनीहरुको साथबाट ४ लाख ७९ हजार रुपैयाँ नगद, तीन थान मोबाइल र पीडितकी श्रीमतीको नाममा रहेको माछापुच्छ्रे बैंकका ७ थान खाली चेक बरामद गरिएको छ।
