रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते आएको बाढीले पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको क्षति पुर्याएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको द्रूत प्रतिक्रिया टोली (क्युआरटी) ले पर्यटनमन्त्री खडग राज पौडेललाई बुझाएको प्रतिवेदनले यो तथ्यांक सार्वजनिक गरेको हो।
बाढी र पहिरोले रसुवा, नुवाकोट, धादिङ र गोरखा क्षेत्रका पर्यटन पूर्वाधार, होटल, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो असर पारेको छ। क्युआरटी संयोजक सहदेव धमलाका अनुसार होटल क्षेत्रमा रु १९ अर्ब ५६ करोड, वैदेशिक पर्यटन आम्दानीमा रु १४ अर्ब ६० करोड र पर्यटक व्यवस्थापनमा रु १२ अर्ब २६ करोडभन्दा बढीको क्षति अनुमान गरिएको छ।
सम्पदा तथा पर्यटन पूर्वाधार, सवारीसाधन, रेस्टुरेन्ट, लाङटाङ क्षेत्रको व्यावसायिक कारोबार, आन्तरिक पर्यटन राजस्व, र्याफ्टिङ तथा क्याम्पिङ साइट र ट्रेकिङ ट्रेलहरू पनि प्रभावित भएका छन्। बाढीपहिरोमा परी एक हजार ११७ जना प्रभावित भएकामा ३१० जनाको सकुशल उद्धार भएको छ। १३ जना सम्पर्कमा आएका छन्। ७९४ जना भने सम्पर्कविहीन छन्।
विपद्पछिको पुनरुत्थानका लागि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणसँगै भविष्यमा आउन सक्ने जलवायुजन्य जोखिमलाई ध्यानमा राखी सुरक्षित र दिगो पर्यटन प्रणाली विकास गर्नुपर्नेमा प्रतिवेदनले जोड दिएको छ। बाढीप्रभावित व्यवसायीका लागि तत्काल राहत, कर छुट र सहुलियतपूर्ण पुनरुत्थान प्याकेजको आवश्यकता औंल्याइएको छ।
मन्त्री पौडेलले बाढी प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धार तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए। उनले आगामी पर्यटकीय यामअघि प्रमुख गन्तव्यहरूमा सुरक्षा, सञ्चार र यातायात पहुँच पुनःस्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रारम्भिक प्रतिवेदनले प्रमाणमा आधारित सूचना प्रवाह, जलवायु-अनुकूल पूर्वाधार, पूर्वसूचना प्रणाली, पर्यटक प्रहरीको विस्तार र पर्यटन बिमा प्रणालीको संस्थागत विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
