काठमाडौंमा १५० बचतकर्ताको १५ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा मञ्जुश्री सहकारीका अध्यक्ष नारायणप्रसाद घिमिरे पक्राउ परेका छन्।
सहकारीले बचतकर्तालाई करिब चार वर्षदेखि पैसा फिर्ता नगरेको भन्दै वाग्मती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेको थियो। सोही पत्रका आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले शुक्रबार घिमिरेलाई पक्राउ गरेको हो।
प्रहरी वृत्तका नायब उपरीक्षक सन्तोष रोक्काले सहकारी ठगी अभियोगमा सोधपुछ गरी थप कारबाही प्रक्रिया अघि बढाउन घिमिरेलाई पक्राउ गरिएको जानकारी दिए।
मञ्जुश्री सहकारीले करिब १५० बचतकर्ताको १५ करोड रुपैयाँ बचत रकम फिर्ता गर्न बाँकी छ। प्रहरीले घिमिरेमाथि थप कारबाही प्रक्रिया अघि बढाएको छ।
