भारतले चिनी निर्यातमा तत्काल लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाएको छ। यो निर्णयले नेपालको बजारमा चिनीको मूल्य बढाउने र उद्योगहरूलाई प्रभावित पार्ने निश्चित छ।
विश्वका प्रमुख चिनी उत्पादक भारतले सेप्टेम्बर ३० सम्म निर्यात रोक्ने आदेश बुधबार राति जारी गरेको हो। यो प्रतिबन्धले नेपालमा बिस्कुट, जुस र चकलेट उद्योगमा प्रत्यक्ष असर पार्ने बिजमाण्डूको रिपोर्ट छ। भारतले आन्तरिक आपूर्ति र मौज्दात सुनिश्चित गर्न, मूल्य स्थिर राख्न तथा मुद्रास्फीति नियन्त्रण गर्न यो कदम चालेको हो।
निर्यातमा सीमित अपवादहरू छन्। यसअघि प्रक्रियामा रहेका केही कन्साइनमेन्टलाई छुट दिइनेछ। खाद्य सुरक्षासम्बन्धी सरकारी सम्झौता अन्तर्गतका निर्यात भने जारी रहनेछन्।
आगामी चिनी उत्पादन सिजनबारेको चिन्ताले भारत सरकारलाई यो निर्णय लिन बाध्य पारेको हो। एल निनो प्रभावका कारण औसतभन्दा कम मनसुन हुने मौसमविद्हरूको अनुमान छ। यसले ऊखु उत्पादनमा असर गरी चिनी उत्पादन घटाउन सक्ने आशङ्का छ।
भारत विश्व चिनी बजारको प्रमुख आपूर्तिकर्ता हो। यस निर्यात प्रतिबन्धले अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि हुने विश्लेषण गरिएको छ।
सरकारी तथ्याङ्क अनुसार, सन् २०२१-२२ मा भारतले १ करोड १० लाख टन चिनी निर्यात गरेको थियो। यो आँकडा २०२२-२३ मा घटेर ६३ लाख टनमा झरेको थियो। सन् २०२३-२४ मा निर्यात १ लाख टनमा सीमित भयो। सन् २०२४-२५ मा नौ लाख टन पुगे पनि आगामी उत्पादनबारे अनिश्चितताले कडा नियन्त्रणको बाटो रोजिएको हो।
