चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनको ५९.७५ प्रतिशत पुगेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार १० महिनामा ११ खर्ब ७३ अर्ब ५२ करोड एक लाख रुपैयाँ खर्च भएको छ।
सरकारले चालु आवका लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। यसमध्ये चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा ६८.९८ प्रतिशत अर्थात् आठ खर्ब १४ अर्ब ६५ करोड ५५ लाख खर्च भएको छ।
पुँजीगततर्फ चार खर्ब सात अर्ब ८८ करोड ८० लाख विनियोजन भएकोमा २७.९१ प्रतिशत अर्थात् एक खर्ब १३ अर्ब ८४ करोड ९२ लाख रुपैयाँ मात्र खर्च भएको छ। यो विकास निर्माणका लागि छुट्याइएको बजेटको न्यून खर्च हो।
वित्तीय व्यवस्थातर्फ तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख विनियोजनमा हालसम्म दुई खर्ब ४५ अर्ब एक करोड ५४ लाख खर्च भएको छ। यो खर्च ६५.३० प्रतिशत हो।
वैशाख मसान्तसम्ममा सरकारको आम्दानी वार्षिक लक्ष्यको ६६ प्रतिशतमा खुम्चिएको छ। कूल १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख आम्दानी लक्ष्यमा हालसम्म १० खर्ब १२ अर्ब पाँच करोड २४ लाख आम्दानी भएको छ।
राजस्व संकलनतर्फ १४ खर्ब ८० अर्ब लक्ष्यमा नौ खर्ब ८८ अर्ब ५५ करोड २२ लाख असुली भएको छ। यो लक्ष्यको ६६.६९ प्रतिशत हो।
वैदेशिक अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख लक्ष्यमा १७ अर्ब ७८ करोड ७६ लाख प्राप्त भएको छ। यो लक्ष्यको ३३.२८ प्रतिशत हो।
