सरकारले बाढीका कारण अत्यधिक प्रभावित भएका रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। यो निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ।
गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) बमोजिम यो घोषणा गरेको हो। नेपाल–चीन सीमास्थित भोटेकोसीमा आएको भीषण बाढीले ती जिल्लाका तल्लो तटीय क्षेत्रमा ठुलो क्षति पुर्याएको थियो।
रसुवाका उत्तरगया, गोसाइँकुण्ड, कालिका र आमाछोदिङमो गाउँपालिका प्रभावित भएका छन्।
नुवाकोटको विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका यस घोषणामा परेका छन्।
धादिङका गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका पनि प्रभावित भएका छन्।
तनहुँ जिल्लाका देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा भएपछि यी क्षेत्रहरूमा राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यहरूलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाउन कानुनी रूपमा सहज हुनेछ।
