बराह बचत तथा ऋण सहकारी संस्थाबाट ठगिएका १० हजार निक्षेपकर्ताले ११ अर्ब रुपैयाँ बचत फिर्ताको माग गर्दै रास्वपा सभापति रवि लामिछानेलाई पत्र लेखेका छन्।
बराह सहकारी पीडित समन्वय समितिले लामिछानेलाई सम्बोधन गरेको पत्रमा २०७८ मंसिरदेखि नै बचतकर्ताको रकम फिर्ता नदिएर सहकारीका सञ्चालकहरू फरार भएपछि हजारौँ परिवारको बिचल्ली भएको उल्लेख छ।
सहकारी संकटग्रस्त भएपछि अध्यक्ष मानबहादुर विश्वकर्मासहित सञ्चालकहरू अमरबहादुर विश्वकर्मा र गंगा बहादुर कालिकोटे फरार छन्। सञ्चालकहरू फरार भएपछि धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले २०८२ भदौ २२ गते बराह सहकारीलाई ‘संकटग्रस्त’ घोषणा गरेको थियो। उक्त घोषणापछि पनि पीडितहरूको बचत फिर्ताका लागि कुनै ठोस प्रक्रिया अघि नबढेको उनीहरूको भनाइ छ।
पीडितहरूले रास्वपाले निर्वाचनमा सहकारी बचतकर्ताको रकम फिर्ता गर्ने वाचा गरेको स्मरण गराउँदै लामिछानेसँग बचत फिर्ताको वातावरण बनाउन माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने वा पार्टीका तर्फबाट यस पत्रको सम्बन्धमा कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
समन्वय समितिले सहकारीको सम्पत्ति र दायित्वको विस्तृत छानबिन, मुख्य सञ्चालकलाई पक्राउ गरी कानुनी कारबाही, र पीडितको बचत रकम फिर्ताका लागि ठोस पहलको माग गरेको छ।
