रसुवाको बेत्रावतीमा ७३ मिटर लामो बेलिब्रिज जडानको काम सुरु भएको छ।
बाढीले क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डमा अस्थायी ट्र्याक खुलेपछि बेलिब्रिज जडानको काम अघि बढाइएको हो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार बेलिब्रिजका दुवैतर्फका फाउन्डेसन निर्माण सम्पन्न भइसकेका छन्। मन्त्रालयले आगामी एक साताभित्र जडान सम्पन्न गर्ने लक्ष्य राखेको छ।
बेलिब्रिज जडानका लागि आवश्यक सामग्री निर्माणस्थलसम्म पुर्याउने कामलाई तीव्रता दिइएको छ। नेपाली सेनाको सहयोगमा यो कार्य भइरहेको छ। प्राविधिकहरूले घटस्थापना (२०८३ असोज १६ गते) सम्म बेलिब्रिज सञ्चालनमा ल्याउने योजना रहेको बताएका थिए।
२०८३ भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङ क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो। बाढीले सडक संरचनामा क्षति पुर्याएपछि रसुवामा एक महिनासम्म यातायात ठप्प भई खाद्यान्न संकट गहिरिएको थियो। सडक विभागका अनुसार बाढीले सडक तथा पुलतर्फ मात्रै प्रारम्भिक रूपमा करिब २० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।
मन्त्री लम्सालले तत्काल यातायात सञ्चालनका लागि अस्थायी ट्र्याक निर्माण र दीर्घकालीन सडक पूर्वाधार पुनर्स्थापनाका कामलाई सँगसँगै अघि बढाइएको बताए। उनले सडकलाई थप व्यवस्थित बनाउन ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम बाँकी रहेको पनि जनाएका छन्।
बेलिब्रिज जडान सम्पन्न भएपछि रसुवासँगको मुख्य सडक सञ्जाल पुन: औपचारिक रूपमा जोडिनेछ। यससँगै यातायात आवागमन सहज हुने अपेक्षा छ। यद्यपि, बेत्रावतीमा जडान भइरहेको बेलिब्रिजको कुल लागत र रकमको स्रोतबारे भने अझै जानकारी उपलब्ध छैन।
