किसानलाई आगामी याममा रासायनिक मल सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सरकारले खरिद प्रक्रिया अघि बढाएको छ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीको सचिवालयका अनुसार, आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँको स्रोत सहमति प्राप्त भएको छ।
सो स्रोत सहमति प्राप्त भएसँगै उक्त रकमबाट आवश्यक रासायनिक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।
मन्त्री चौधरीले किसानले खेती गर्ने समयमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले समयमै मल व्यवस्थापन गर्न खरिद प्रक्रिया र आपूर्ति व्यवस्थापनलाई प्राथमिकता दिन निर्देशन दिएको सचिवालयले जनाएको छ।
