सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफस संक्रमण नियन्त्रणबाहिर जाने जोखिम बढेको छ। हालसम्म सयौं संक्रमित भइसकेका छन्। पछिल्लो एक महिनामा ७ जनाको ज्यान गइसकेको छ।
मंगलबार १६० जनामा परीक्षण गर्दा ३७ जनामा संक्रमण पुष्टि भयो। सोमबार १९१ जनाको परीक्षण गर्दा ६० जनामा संक्रमण देखियो। परीक्षण गरिएकामध्ये झन्डै एकतिहाइमा संक्रमण पाइएपछि रोकथाम चुनौतीपूर्ण बनेको छ।
संक्रमण नियन्त्रणका लागि आवश्यक परीक्षण किटको अभाव छ। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार वडा नम्बर १, ५ र ६ बढी प्रभावित छन्। जोखिममा रहेका मानिसको परीक्षण गर्न थप एक हजार २०० किट आवश्यक छ।
किटको मौज्दात घट्दै गएपछि प्रदेश र संघीय सरकारसँग आग्रह गरिएको स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले बताए। प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रबाट २०० र स्वास्थ्य सेवा कार्यालय सल्यानबाट २५० गरी ५५० किट दार्मा पुगेका छन्। संक्रमण दर उच्च देखिएपछि ती किट पर्याप्त नहुने बस्नेतले बताए।
उनले भने, ‘परीक्षण गर्नुपर्ने मानिसको संख्या बढिरहेको छ। किटको मौज्दात घट्दै गएको छ। तत्काल थप किट उपलब्ध नभए परीक्षण प्रभावित हुनसक्छ।’
दार्मा गाउँपालिकामा संक्रमण फैलिएपछि कर्णाली प्रदेश सरकारले थप किट, औषधि र स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गरेको छ। मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेश स्वास्थ्य सेवा निर्देशनालय र आपूर्ति व्यवस्थापन केन्द्रलाई सामग्री र जनशक्ति पठाउन निर्देशन दिएका छन्।
सल्यानकै कालीमाटी, कुमाख गाउँपालिका र बागचौर नगरपालिकाले पनि परीक्षण किट माग गरेका छन्। स्वास्थ्य सेवा कार्यालय सल्यानले स्क्रब टाइफस र डेङ्गु परीक्षण किट, डक्सिसाइक्लिन, एजिथ्रोमाइसिन, पारासिटामोललगायत औषधि उपलब्ध गराउन प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई पत्राचार गरेको छ।
प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका प्रमुख डा. रविन खड्काले मागअनुसार किट, औषधि र स्वास्थ्यकर्मीसहितको टोली मंगलबार बिहान सल्यान पठाउने तयारी भएको बताए।
पछिल्लो एक महिनामा स्क्रब टाइफसकै कारण सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दार्मा–६ का ८२ वर्षीय बलबहादुर थापा र ६७ वर्षीय नरबहादुर बुढाथोकी, दार्मा–५ का ६९ वर्षीय तुलबहादुर खड्का, दार्मा–१ का ५१ वर्षीय खिमानन्द केसी, ६७ वर्षीय तोताराम सुनार र ६१ वर्षीय नरेन्द्र रोकाय, र दर्मा–२ का १२ वर्षीय नरेश ओली छन्।
स्वास्थ्य शाखा प्रमुख बस्नेतका अनुसार उनीहरूलाई स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि जिल्ला बाहिरका अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको हो।
