नेपाली कांग्रेसले पार्टी नेतृत्वमा रहेका स्थानीय तह र प्रदेश सरकारहरूलाई विपद् व्यवस्थापनमा विशेष प्राथमिकता दिन निर्देशन दिएको छ। शुक्रबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सभापति गगनकुमार थापाले यो निर्देशन जारी गरे।
स्थानीय सरकारले सम्पादन गर्नुपर्ने मुख्य कार्यमध्ये विपद् व्यवस्थापनलाई प्रमुख सूचीमा राख्दै पार्टीले विशेष मार्गनिर्देशन प्रदान गरेको थापाले जानकारी दिए। उनका अनुसार स्थानीय तहले विपद् व्यवस्थापनमा निर्वाह गर्नुपर्ने भूमिका र कामहरू स्पष्ट रूपमा वर्गीकरण गरिएको छ।
थापाले मातहतका जनप्रतिनिधिहरूलाई योजनाबद्ध र प्रभावकारी रूपमा अगाडि बढ्न आग्रह गरे। पार्टीको साङ्गठनिक सुदृढीकरण र सदस्यता वितरणबारे चर्चा गर्दै उनले नेपाली कांग्रेस मुलुककै सबैभन्दा ठूलो सामाजिक संस्था भएको उल्लेख गरे।
पार्टीको सञ्जाल र जनशक्तिलाई विपद् जोखिम न्यूनीकरण तथा सचेतना अभियानमा परिचालन गर्ने लक्ष्य छ। संसद् र पार्टी बैठकमा जनसरोकारका मुद्दा उठ्ने गरेको स्मरण गर्दै थापाले भने, ‘हामी सरकारमा हुँदा मात्र होइन, सरकारबाहिर हुँदा पनि यस्ता विषयमा सक्रिय रहन्छौँ । यसरी हेर्दा, नेपाली कांग्रेस नेपालको सबैभन्दा ठूलो सामाजिक सङ्गठन पनि हो । यदि हामीले ‘विपद्सम्बन्धी विषयमा सबैलाई सचेत बनाऔँ’ भन्ने अभियान सञ्चालन गर्यौँ भने, एकै पटक ८-९ लाख मानिसलाई सचेत बनाउन सक्छौँ ।’
सदस्यता नवीकरण तथा वितरण बैठकका क्रममा उनले पार्टीको सम्पूर्ण शक्तिलाई राजनीतिक जोडघटाउमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्व, नागरिकको जिउधनको रक्षा र विपद् व्यवस्थापनमा केन्द्रित गरिने स्पष्ट पारे।
