NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने बालविकास सहजकर्ताविरुद्ध भ्रष्टाचार मुद्दा

पाँचथरको श्री जय भवानी माविमा कार्यरत बालविकास सहजकर्ता बिनाकुमारी राईविरुद्ध अख्तियारले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। राईले कक्षा ८ र एसएलसीको नक्कली प्रमाणपत्र प्रयोग गरी सरकारी जागिर खाएको तथा सेवा सुविधा लिएको अख्तियारको दाबी छ।
Arjun Basnet
Arjun Basnet
17 June 2026, 4:32 pm १ मिनेट पढाइ
आकार:
Share:

पाँचथरको श्री जय भवानी माध्यमिक विद्यालयमा कार्यरत बालविकास सहजकर्ता बिनाकुमारी राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। राईले सरकारी जागिरका लागि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अख्तियारको ठहर छ।

उनले बालविकास सहजकर्ता पदमा नियुक्ति लिन तथा सरकारी सेवा सुविधा प्राप्त गर्न कक्षा ८ र एसएलसीको लब्धाङ्क पत्र र चारित्रिक प्रमाणपत्र नक्कली बनाएर पेस गरेको अनुसन्धानबाट खुलेको छ। नक्कली प्रमाणपत्र पेस गरी जागिर गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो।

अनुसन्धानमा आरोप पुष्टि भएपछि बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए। प्रवक्ता न्यौपानेका अनुसार, प्रतिवादी राईले झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्रहरू पेस गरी लाभ तथा सरकारी सेवा सुविधासमेत प्राप्त गरेको पुष्टि भएको छ।

आयोगले राईलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गरेको छ। सोही ऐनको दफा १६ को उपदफा (१) मा तोकिएबमोजिम कैद र जरिवाना सजायको मागदाबी लिई अदालतमा आरोपपत्र दायर गरिएको छ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार