NM Khabar 11 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

वाल्मीकि विद्यापीठको नक्कली पत्र: ८ विदेशीलाई भिसा, दुई पक्राउ

वाल्मीकि विद्यापीठको नक्कली पत्र प्रयोग गरी १० विदेशीलाई अध्ययन भिसा सिफारिस भएको खुलासा भएको छ। आठ जनालाई भिसा जारी गरिए पनि दुई जना शंकास्पदमा परेपछि घटना बाहिरियो। घटनामा संलग्न वीरगञ्जका सुबोध शुक्ल र चिनियाँ नागरिक वाङ जिन्काउ पक्राउ परेका छन्।
Arjun Basnet
Arjun Basnet
11 June 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
नक्कली भिसा प्रकरण
Share:

वाल्मीकि विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले अध्ययन भिसा लिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। अध्यागमन विभागको अनुसन्धानमा यो तथ्य खुलेको हो।

अध्यागमन विभागका अनुसार, वाल्मिकी विद्यापीठमा अध्ययनरत रहेको भन्दै १० विदेशी नागरिकका लागि शिक्षा तथा खेलकुद मन्त्रालयमा कागजात पेश गरिएको थियो। मन्त्रालयले जेठ २१ गते ती कागजातका आधारमा अध्यागमन विभागलाई अध्ययन भिसाका लागि सिफारिस गरेको थियो।

सिफारिस गरिएका १० जनामध्ये आठ जनालाई विभागले यसअघि नै अध्ययन भिसा जारी गरिसकेको थियो। भिसा प्राप्त गर्नेमा छ जना चिनियाँ, एक कोरियाली र एक रुसी नागरिक छन्। अध्यागमनको अभिलेखअनुसार, उनीहरू यसअघि विभिन्न समयमा पर्यटक भिसामा नेपाल आउजाउ गर्दै आएका थिए। कतिपय विदेशी विगत सात वर्षदेखि नेपाल आउने गरेको देखिएको छ।

बाँकी दुई जनाको भिसा जारी गर्ने क्रममा कागजातमा शंका लागेपछि थप जाँच गर्दा वाल्मिकी विद्यापीठको नाममा पेश गरिएको पत्र नक्कली रहेको खुलेको विभागले जनाएको छ। नक्कली पत्रमा ती विदेशी नागरिकहरू वाल्मिकी विद्यापीठको संस्कृत साहित्य विषयको दुईवर्षे आचार्य तहमा भर्ना भएको उल्लेख थियो।

घटनामा संलग्न रहेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–९ निवासी सुबोध शुक्ल र चिनियाँ नागरिक वाङ जिन्काउलाई बिहीबार पक्राउ गरिएको छ। पक्राउ परेकी चिनियाँ नागरिकबाट नेपाल संस्कृत विश्वविद्यालयको नाममा जारी भएको ‘संस्कृत साहित्य प्रशिक्षण शुल्क’ उल्लेख भएको आम्दानी भरपाईसमेत बरामद भएको छ।

प्रारम्भिक अनुसन्धानमा शुक्लले यसअघि पनि विदेशी नागरिकलाई भिसा सिफारिस गराएर नेपाल ल्याउने गरेको स्वीकार गरेका छन्। उनका माध्यमबाट जारी भएका अन्य सिफारिसहरूको आधिकारिकताबारे थप अनुसन्धान भइरहेको छ।

अध्यागमन विभागले यसअघि जारी भइसकेका आठ अध्ययन भिसा रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। भिसा लिइसकेका अन्य विदेशी नागरिकहरूको खोजी तथा थप अनुसन्धान जारी छ।

अनुसन्धानबाट थप कसुर पुष्टि भएमा सम्बन्धित विदेशी नागरिकमाथि पक्राउ, जरिवाना, निष्कासन तथा भविष्यमा नेपाल प्रवेशमा रोक लगाउनेसम्मको कारबाही हुन सक्ने विभागले जनाएको छ। नेपाली नागरिकमाथि भने सरकारी कागजात किर्ते सम्बन्धी कसुरमा अनुसन्धान र कानुनी कारबाही अघि बढाइनेछ।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार