प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पाँच अर्ब चार करोड ४६ लाख ८१ हजार ३६९ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सार्वजनिक गरेको विवरण अनुसार सो रकम कोषमा जम्मा भएको हो।
सरकारले सहयोगको पारदर्शी उपयोग र सही व्यवस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा मात्रै रकम पठाउन आग्रह गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कोषबाट प्रभावित पाँच जिल्लाका १५ स्थानीय तहमा अत्यावश्यक सेवा सञ्चालनका लागि ६ करोड ७५ लाख रुपैयाँ निकासा भइसकेको छ।
यसैबीच, रसुवाको बाढीमा स्कुल बससँगै बगेका दुई बालकको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ। बेत्रावतीका ६ वर्षीय आरुष तामाङ र ८ वर्षीय ज्वेल घलेलाई नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले दुई दिनपछि नदीबाट जीवितै उद्धार गरी हेलिकोप्टरमार्फत काठमाडौं ल्याएको थियो।
स्थानीय विद्यालय जानका लागि बेत्रावतीमा स्कुल बस चढेकै बेला आएको भीषण बाढीले उनीहरू सवार बसलाई बगाएको थियो। बिहीबार सुरक्षाकर्मीको टोलीले नदी क्षेत्रबाट दुवै बालकलाई सकुशल फेला पारेको थियो।
उपचारमा संलग्न चिकित्सकहरूका अनुसार ६ वर्षीय आरुषको छातीको करङ भाँचिएको छ। कानभित्र बालुवा पसेकाले थप उपचार भइरहेको छ। दुई दिनसम्म नदीमा बसभित्रै अड्किएका आरुष सुरुमा गहिरो मानसिक आघातका कारण बोल्न र खान सक्ने अवस्थामा थिएनन्। उपचारपछि उनको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ।
बाढीमा बगेर माया मारिसकेका सन्तान जीवितै फेला परेपछि परिवारमा खुसी छाएको छ। ‘हामीले त माया मारिसकेका थियौं, अहिले जीवितै पाउँदा भगवान् भेटिएजस्तो खुसी लागेको छ,’ आरुषकी आफन्त शर्मिला तामाङले भनिन्।
अर्का ८ वर्षीय बालक ज्वेल घलेको हात र खुट्टामा चोट लागेको छ। उनको अवस्था खतरामुक्त रहेको र ट्रमा सेन्टरमै उपचार जारी रहेको अस्पताल स्रोतले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा गरेको कामको विवरण शनिबार साँझ फेसबुकमार्फत सार्वजनिक गरेका छन्। उनले रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा ठूलो जनधन र भौतिक क्षति पुगेकामा सरकार गम्भीर रहेको बताएका छन्।
