रसुवा, नुवाकोट र धादिङमा भदौ १० गते आएको विनाशकारी बाढीले १८ विद्यालय पूर्णरूपमा ध्वस्त पारेको छ। थप २० विद्यालयमा क्षति पुगेको छ। यस प्रकोपले करिब १७ हजार बालबालिकाको शिक्षामा गम्भीर असर पारेको छ।
युनिसेफका अनुसार बाढीले बालबालिकाको घर, परिवार, विद्यालय र समुदाय बगाएको छ। यसले उनीहरूको शारीरिक सुरक्षासँगै मानसिक स्वास्थ्यमा समेत गम्भीर असर पारेको छ। हालसम्म बाढी तथा त्यसपछिका घटनामा अनुमानित ७८८ जनाको मृत्यु भएको छ। कम्तीमा १४ जना बालबालिकाको ज्यान गएको छ। सयौं अझै बेपत्ता छन्। मृतक र प्रभावितको संख्या बढ्ने अनुमान छ।
बाढी प्रभावित क्षेत्रमा सडक, पुल, खानेपानी र दूरसञ्चार संरचनामा ठूलो क्षति पुगेको छ। राहत र जीवनरक्षक सामग्री पुर्याउन कठिनाइ भइरहेको छ। चार स्वास्थ्य संस्था गम्भीर रूपमा क्षतिग्रस्त भएकाले उपचार सेवामा बाधा पुगेको छ। दूषित पानी र सरसफाइको अभावले बालबालिकामा विभिन्न रोगको जोखिम बढेको छ।
युनिसेफले करिब १० हजार विद्यालय जाने उमेरका बालबालिकालाई शिक्षा निरन्तरता दिन तत्काल सहयोग आवश्यक रहेको जनाएको छ। अस्थायी सिकाइ केन्द्र, शैक्षिक सामग्री र मनोसामाजिक सहयोगको आवश्यकता छ।
बाढी प्रभावित बालबालिकाको स्वास्थ्य, पोषण, खानेपानी, सरसफाइ, शिक्षा र बाल संरक्षणलाई प्राथमिकतामा राखेर युनिसेफले सहयोग गरिरहेको छ। चिकित्सा पाल, झुल, नवजात शिशुका लागि सामग्री र उपचारात्मक खाना पठाउने तयारी छ। हजारौं परिवारलाई आपत्कालीन स्वच्छता किट वितरण गरिएको छ।
मानसिक रूपमा प्रभावित बालबालिकाका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग टोली परिचालन गरिएको छ। परिवारबाट छुट्टिएका वा हराएका बालबालिकाको पहिचान, दर्ता र पुनर्मिलनका लागि काम भइरहेको छ। युनिसेफले आपत्कालीन प्रतिकार्य र प्रारम्भिक पुनर्लाभका लागि १ करोड ७२ लाख अमेरिकी डलर आवश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय सहयोगको अपिल गरेको छ।
काठमाडौंका विभिन्न अस्पतालमा बाढीमा घाइते भएका ७६ जना उपचाररत छन्। नौं जना बालबालिकाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
राष्ट्रिय बाल अधिकार परिषद्ले प्रभावित स्थानीय तहमा कार्यरत निकायसँग प्रभावकारी समन्वय हुन नसकेको जनाएको छ। कतिपय स्थानमा सम्पर्कसमेत स्थापित हुन सकेको छैन। बाढीबाट प्रभावित बालबालिकाको यकिन तथ्यांक संकलन गर्न केही समय लाग्ने सूचना अधिकारी रामबहादुर चन्दले बताए।
भौतिक संरचना पुनर्निर्माणसँगै बाढीले बालबालिकाको जीवनमा पारेको दीर्घकालीन असर सम्बोधन गर्न नसके विपद्को प्रभाव उनीहरूको भविष्यसम्म फैलिन सक्ने जोखिम छ।
