NM Khabar 31 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

रसुवा बाढी: सुरुङमा फसेका १०९ जनाको उद्धार, सेना परिचालन

• रसुवामा बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थलगत उद्धार कार्य तीव्र पारिएको छ। • नेपाली सेनाले सुरुङभित्र फसेका एक जर्मन नागरिकसहित १०९ जनाको सकुशल उद्धार गरेको छ। • विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरूमा खोजी तथा उद्धार जारी छ, एक शव पनि सङ्कलन गरिएको छ।
Sanjay Karki
Sanjay Karki
31 August 2026, 7:02 pm १ मिनेट पढाइ
आकार:
रसुवा बाढी उद्धार
Share:

रसुवाका बाढी प्रभावित क्षेत्रमा हवाई तथा स्थलगत खोज, उद्धार र राहत वितरण कार्य तीव्र पारिएको छ। नेपाली सेनाको हवाई साधन प्रयोग गरी आज एक जर्मन नागरिकसहित १०९ जनाको सकुशल उद्धार गरिएको छ।

विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरूमा उद्धार कार्य जारी छ। त्रिशूली-३ ए मा टनेल हेड फेला पारी कम्प्रेसरमार्फत हावा पठाउने र पानी निकाल्ने काम भइरहेको छ। ३ वटा एक्साभेटर प्रयोग गरी पछाडितर्फको वैकल्पिक मार्ग करिब १५ मिटर खोलिएको छ।

त्रिशूली-३ बी मा विज्ञ टोलीले एक्जाभेटरसहित खोजतलास जारी राखेको छ। चिलिमे हाइड्रोको टनेलमा ३५ मिटर, अपर त्रिशूली-१ को मैलुङमा २०० मिटर र हाँकूतर्फ ३०० मिटरसम्म पुगेर विदेशी विज्ञसहितको संयुक्त टोलीले खोजी गरेको छ। रसुवागढी हाइड्रोको टनेलमा करिब २५० मिटरसम्म पुगेर बन्द भाग फेला परेको छ। लाङटाङ हाइड्रोको टनेलमा करिब ६५ मिटरसम्म पुगी एक जनाको शव सङ्कलन गरिएको छ।

प्रभावित क्षेत्रका जङ्गल, डाँडा र बस्तीहरूमा पैदल गस्ती गरी स्थानीयलाई सुरक्षाको प्रत्याभूति दिलाइएको छ। सेनाको टोलीले टिमुरे इलाकामा ५ वटा सेफ (३ नेपाली, २ चिनियाँ) फेला पारी सशस्त्र प्रहरी बललाई बुझाएको छ।

सेनाले त्रिशूली र धुन्चेका आपत्कालीन उपचार केन्द्रबाट १६५ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ। हाल रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका क्षेत्रमा ८ हजार ९ सयभन्दा बढी सेनाको फौज खोज, उद्धार, शव व्यवस्थापन र सडक खुलाउने कार्यमा खटिएको छ।

Sanjay Karki

Sanjay Karki

संवाददाता · NM Khabar

सञ्जय कार्की NM खबरको ब्रेकिङ न्युज डेस्कका संवाददाता हुन्। प्राकृतिक प्रकोप, दुर्घटना र द्रुत गतिका समाचारहरूमा उनको छिटो र सटीक रिपोर्टिङ उल्लेखनीय छ। मौसम परिवर्तन र विपद् व्यवस्थापनसम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ।

सम्बन्धित समाचार