NM Khabar 17 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

परराष्ट्रमन्त्री खनालद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान

परराष्ट्रमन्त्री शिशिर खनालले चीन भ्रमणका क्रममा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरेका छन्। बेइजिङमा आयोजित लगानी सम्मेलनमा उनले नेपालको आर्थिक अवसर र व्यवसायमैत्री वातावरणबारे जानकारी गराए। मन्त्री खनालले चिनियाँ अधिकारीहरूसँग द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा पनि छलफल गरेका छन्।
Bikram Magar
Bikram Magar
17 June 2026, 4:47 am १ मिनेट पढाइ
आकार:
चिनियाँ लगानी नेपाल
Share:

परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार-हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गरेका छन्। चीनको चारदिने औपचारिक भ्रमणमा रहेका मन्त्री खनालले मंगलबार बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले नेपालको आर्थिक अवसर तथा जनसाङ्खिय सामथ्र्यलाई उजागर गर्दै थप सक्षम र व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकार प्रतिबद्ध रहेको बताए।

लगानी सम्मेलनकै अवसरमा मन्त्री खनालले चिनियाँ व्यवसायी, उद्यमी तथा लगानीकर्ताहरूसँग भेटघाट गरेका थिए। सो अवसरमा नेपालमा रहेका लगानीका अवसरबारे नेपाल लगानी बोर्डका प्रतिनिधिद्वारा प्रस्तुतीकरण गरिएको थियो।

यसैगरी, मन्त्री खनालले बेइजिङमा चीनको चिनियाँ जनराजनीतिक परामर्श सम्मेलनको राष्ट्रिय समितिका अध्यक्ष वाङ हुनिङसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा नेपाल र चीनबीचको सौहार्द्रपूर्ण तथा मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहकार्य प्रवर्द्धन गर्ने विषयमा छलफल भएको दूतावासले जनाएको छ।

मन्त्री खनालले बेइजिङस्थित मियाओयिङ मन्दिरमा रहेको श्वेत स्तूपको अवलोकन पनि गरे। नेपालको राष्ट्रिय विभूति अरनिकोद्वारा डिजाइन गरिएको उक्त सम्पदा नेपाल–चीन मित्रताको प्रतीक मात्र नभई नेपालको ऐतिहासिक सौम्य शक्ति, नेपाली कलाकारहरूको अन्तर्राष्ट्रिय प्रतिष्ठा तथा नेपाली वास्तुकलाको समृद्धिको प्रमाण भएको बताइएको छ।

उनले चिनियाँ तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै नेपालको परराष्ट्र नीति, नेपाल-चीन सम्बन्ध, नवगठित सरकारका प्राथमिकताहरू तथा अन्तर्राष्ट्रिय समुदायसँग नेपालको संलग्नताबारे आफ्ना धारणा साझा गरेका थिए।

मन्त्री खनाल चीनका विदेश मामिलामन्त्री वाङ यीको निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए र उनी भोलि असार ३ गते स्वदेश फर्कने कार्यक्रम छ।

Bikram Magar

Bikram Magar

संवाददाता · NM Khabar

विक्रम मगर NM खबरका अन्तर्राष्ट्रिय मामिला संवाददाता हुन्। कूटनीति, भूराजनीति र नेपालको परराष्ट्र सम्बन्धमा उनको विश्लेषणात्मक रिपोर्टिङले पाठकहरूलाई विश्व परिदृश्य बुझ्न सहयोग पुर्‍याउँछ। चीन र भारतसँगको नेपालको सम्बन्धमा उनी विशेष रुचि राख्छन्।

सम्बन्धित समाचार