NM Khabar 9 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्रियता र अर्थतन्त्र सुधारमा सरकारलाई कांग्रेसको साथ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियता, शासन र अर्थतन्त्र सुधारमा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले लोकतन्त्रका आधारभूत पक्षमाथि हुने गलत काम भने स्वीकार्य नहुने स्पष्ट पारे।
Laxmi Bhattarai
Laxmi Bhattarai
9 May 2026, 8:02 pm १ मिनेट पढाइ
आकार:
Share:

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रियता, शासन र अर्थतन्त्र सुधारमा सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

शनिबार धनगढीमा आयोजित ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय’ भेलालाई सम्बोधन गर्दै थापाले शासन र अर्थतन्त्रमा सुधारका लागि पनि सरकारलाई पूरा सहयोग रहने जानकारी दिए।

राष्ट्रियताका मुद्दामा कांग्रेसले कुनै पार्टी विशेष नभनी सधैँ सरकारलाई सहयोग गरेको स्मरण गराउँदै उनले वर्तमान सरकारलाई पनि सोहीअनुसार समर्थन गर्ने बताए। यद्यपि, लोकतन्त्रका आधारभूत पक्षमाथि गरिने गलत काम भने स्वीकार्य नहुने थापाको भनाइ थियो।

उनले लोकतन्त्रमा कानुनी वैधताभन्दा नैतिक वैधतालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। विगतमा कांग्रेस सरकारमा रहँदा संवैधानिक परिषद्‌मा आफ्नो अनुकूलको निर्णय गराउन तत्कालीन उपसभामुखमाथि महाअभियोग प्रस्तावको तयारी गरिए पनि कांग्रेस त्यसको विपक्षमा उभिएको उदाहरण उनले दिए।

थापाले पार्टीका नेता कार्यकर्तालाई पराजित मानसिकता त्यागेर आ-आफ्नो जिम्मेवारीअनुसार संगठनको काममा लाग्न निर्देशन दिए। गत निर्वाचनमा पार्टीका उम्मेदवारलाई असहयोग गर्ने नेता कार्यकर्तालाई केही समय जिम्मेवारीभन्दा बाहिर राखिने पनि उनले स्पष्ट पारे।

कार्यक्रममा कांग्रेस उपसभापति एवं प्रशिक्षण प्रतिष्ठानका संयोजक विश्वप्रकाश शर्माले नवीन ऊर्जाका साथ पार्टीलाई सम्हालेर अघि बढ्ने समय आएको बताए। उनले अब कांग्रेसले नयाँ ढंगले सोच्नुपर्ने र समाजलगायत सबैलाई सम्हालेर साझा संगठन बनाउने जिम्मेवारी औंल्याए।

महामन्त्री गुरुराज घिमिरेले पार्टीभित्र कुनै आग्रह पूर्वाग्रह नराखी पार्टी संगठन एकीकृत र सुदृढ पार्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। पार्टीमा कुनै अवसर नपाएर किनाराकृत गरिएका क्षमतावान् र निष्ठावन् नेता कार्यकर्ताको उचित मूल्यांकन गरिने पनि उनको भनाइ थियो।

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीलाई एक ढिक्का बनाएर लिनुपर्नेमा जोड दिए। उनले पार्टीमा महत्त्वपूर्ण योगदान गरेका पूर्वसभापति शेरबहादुर देउवालगायत नेताको सम्मानजनक अवस्थाका लागि ध्यान दिन पार्टी नेतृत्वलाई आग्रह गरे।

दुईदिने उक्त कार्यक्रममा प्रदेशसभा र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिसँग विविध विषयमा छलफल गरिने जनाइएको छ।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार