हुम्ला र बाजुरा जिल्लाबीचको सीमा विवाद र झडपबारे गृह मन्त्रालयमा उच्चस्तरीय छलफल भएको छ।
गृहमन्त्री सुधन गुरुङको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले विवाद तत्काल समाधान गर्न र शान्ति सुरक्षा कायम गर्न आवश्यक कदम चाल्ने निर्णय गर्यो।
बैठकमा प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी थिए।
सीमा क्षेत्रमा केही समयअघि भएको विवादमा बाजुराका स्थानीय कुटिएका थिए। उक्त घटनामा संलग्न हुम्लाका ७ जना विरुद्ध पक्राउ पुर्जी जारी भए पनि हालसम्म पक्राउ नपरेको विषयमा बैठकमा गम्भीर छलफल भएको थियो।
गृह मन्त्रालयले यसअघि प्रहरी वरिष्ठ उपरीक्षकको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिको प्रतिवेदन आउन बाँकी छ। मन्त्रालयले दुवै पक्षबीच संवाद गराई स्थिति नियन्त्रणमा लिने पहल गर्ने निर्णय गर्यो।
गृह मन्त्रालयका एक उच्च अधिकारीका अनुसार, दुई पक्षीय वार्ता भइरहेका छन्। एसएसपी नेतृत्वको टोलीको प्रतिवेदन छिट्टै प्राप्त हुनेछ। त्यसैका आधारमा थप ठोस कदम चालिनेछ। दोषीलाई कानुनी प्रक्रियामा ल्याउन र सीमा विवाद सल्टाउन सुरक्षा निकायलाई निर्देशन दिइएको छ।
केन्द्रीय सुरक्षा समितिले दुवै जिल्लाका प्रशासन र सुरक्षा निकायलाई संयमित रहन र स्थानीय सद्भाव कायम राख्न आह्वान गर्यो।
