भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीविरुद्ध ७ लाख ५० हजार रुपैयाँ घुस लिएको आरोपमा मुद्दा दर्ता भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार विशेष अदालतमा उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो। बर्दिवासबाट खटिएको टोलीले उनीहरूलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीले १३ वटा डिप बोरिङ तथा मोटर जडान कार्यका लागि १३ वटा छुट्टाछुट्टै उपभोक्ता समितिहरूलाई कागजमा मात्र गठन गरी भुक्तानी दिएबापत सेवाग्राहीसँग ७ लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर ठहरिएकाले दुवै जनालाई ७,५०,००० रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम कैद र बिगोबमोजिम जरिवाना सजायको मागदाबी लिई मुद्दा दायर गरिएको छ।
