नवलपरासीको देवचुली नगरपालिका–७ का ३९ वर्षीय राज श्रेष्ठ पक्राउ परेका छन्। उनले नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी बल र वनरक्षकमा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोप छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो।
श्रेष्ठले मोहन केसीको नागरिकता प्रयोग गरी ठगी धन्दा चलाएको प्रहरीको दाबी छ। उनले पीडितहरूबाट २७ लाख ३ हजार रुपैयाँ ठगी गरेको आरोप छ। श्रेष्ठले केसीको नागरिकताका आधारमा बैंक खाता खोली, विभिन्न कम्पनीबाट सिमकार्ड लिएर जागिरको प्रलोभन देखाउँदै ठगी गरेको प्रहरीले जनाएको छ।
उनीविरुद्ध कैलालीमा मुद्दा विचाराधीन रहेकाले प्रहरीले उनलाई कैलालीको भजनीस्थित इलाका प्रहरी कार्यालयमा बुझाएको छ।
