NM Khabar 30 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

कोरलानाकाबाट एक सातामा ६१४ विद्युतीय सवारी नेपाल भित्रिए

मुस्ताङको कोरलानाकाबाट एक सातामा ६१४ विद्युतीय सवारी नेपाल भित्रिएका छन्। बिवाइडी कम्पनीका यी सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ। चार्जिङ स्टेसनको अभावले सवारीसाधनलाई जोमसोममा रोक्नुपरेको छ।
Rohan Tamang
Rohan Tamang
29 May 2026, 4:33 pm १ मिनेट पढाइ
आकार:
Share:

मुस्ताङको कोरलानाकाबाट एक सातामा ६१४ विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन्। जेठ ७ देखि १५ गतेसम्मको अवधिमा लोमन्थाङ गाउँपालिका–१ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयमार्फत यी सवारी नेपाल प्रवेश गरेका हुन्।

भन्सार कार्यालयका प्रमुख विदुर चुँडालका अनुसार चीनबाट आयात गरिएका ६१४ ईभीको भन्सार जाँचपास प्रक्रिया पूरा भएको छ। नेपाल भित्रिएका यी सवारीसाधन बिवाइडी कम्पनीका हुन्।

यद्यपि, चिनियाँ कम्पनीमार्फत कति सङ्ख्यामा ईभी नेपाल भित्रिँदैछन् भन्ने यकिन तथ्याङ्क कार्यालयमा छैन। ‘हिउँदयामपछि पहिलो चरणमा नाकाबाट ईभी भित्रिन थालेका छन्। अझै ठूलो सङ्ख्यामा यहाँबाट ईभी नेपाल भित्रिने जानकारी पाएका छौँ,’ चुँडालले भने।

कोरलानाकाबाट भन्सार जाँचपास भई गन्तव्यतर्फ प्रस्थान गरेका ईभीहरू लोमान्थाङ हुँदै जोमसोम झर्ने क्रममा छन्। एक सातामा भन्सार जाँचपास भएका करिब २०० भन्दाबढी ईभी मुस्ताङको जोमसोम आइपुगेका छन्। घरपझोङ–४ जोमसोमस्थित सार्वजनिक बसपार्कमा पार्किङ गरी चार्जिङका लागि रोकिएका छन्।

कोरलानाकाबाट भित्रिएका ईभीका लागि चार्जिङ स्टेसनको अभावले ‘होल्डिङ’ गरी बस्नुपर्ने अवस्था छ। उपल्लो मुस्ताङको चराङमा एक र जोमसोममा दुई वटा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा छन्।

गत भदौ ३१ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आएको नेपाल–चीन उत्तरी कोरलानाका तातोपानी र रसुवागढी नाकाको विकल्प हो। यस नाका सञ्चालनमा आएयता चीनतर्फ निकासी तथा पैठारी कारोबार बढेको छ। गत पुस मसान्तसम्म यो नाकाबाट दुई हजार ३२९ ईभी नेपाल भित्रिएका छन्।

गत भदौ ३१ देखि यस वैशाखसम्म यो नाका हुँदै निकासी तथा पैठारीबाट भन्सार राजस्व रु पाँच अर्ब ७८ करोड छ लाख सङ्कलन भएको छ। ईभी र अन्य सामानको चीनतर्फ निकासी तथा पैठारीले स्थानीय युवालाई रोजगारी दिएको छ। चीनबाट भित्रिने ईभी तथा मालबाहक कन्टेनर सीमावर्ती स्थानीय चालकले चलाउँदा रोजगारी सिर्जना भएको छ।

Rohan Tamang

Rohan Tamang

संवाददाता · NM Khabar

रोहन तामाङ NM खबरका प्रविधि र युवा मामिला संवाददाता हुन्। डिजिटल रूपान्तरण, स्टार्टअप संस्कृति र युवा उद्यमशीलतासम्बन्धी रिपोर्टिङमा उनको विशेष रुचि छ। नेपालको प्रविधि क्षेत्रको वृद्धि र अवसरहरूलाई उजागर गर्न उनी प्रतिबद्ध छन्।

सम्बन्धित समाचार