स्वतन्त्र सांसद महावीर पुन विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने भएका छन्। सम्पत्ति विवादमा परेपछि राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त हुने भएका छन्।
दुवै जनालाई आज दिउँसो ३ बजे राष्ट्रपति निवास शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ।
प्रधानमन्त्री बालेन्द्र शाहले पुनलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेका हुन्। यो मन्त्रालय २५ बाट घटाएर १८ वटा बनाउँदा सिर्जना गरिएको हो। मन्त्रालय स्थापनाको माग गर्दै आएका महावीर पुनलाई नै उक्त जिम्मेवारी दिने निर्णय भएको हो। पुन यसअघि सुशिला सरकारमा शिक्षामन्त्री थिए।
यसैगरी, सम्पत्ति र सेयर विवादमा परेपछि गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङलाई पुनः सोही पदमा नियुक्त गर्ने निर्णय प्रधानमन्त्री शाहले लिएका हुन्। गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन बुझाइसकेको छ। प्रतिवेदन अध्ययन नगरी नै गुरुङलाई पुनः नियुक्त गर्ने निर्णय भएको स्रोतले जनाएको छ।
