NM Khabar 10 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

एमसीसीका दुई सबस्टेशन र २९७ किमि प्रसारण लाइन निर्माण सुरु

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे र नयाँ दमौली सबस्टेसन तथा २९७ किलोमिटर प्रसारण लाइनको निर्माण सुरु गरेको छ। यो परियोजना अमेरिकाको ५५ करोड डलर अनुदान र नेपाल सरकारको १९.७० करोड डलर लगानीमा सञ्चालित छ। निर्माण सम्पन्न भएपछि राष्ट्रिय ग्रीड सुदृढ हुने, प्रसारण अवरोध घट्ने र क्षेत्रीय विद्युत् बजारमा नेपालको सहभागिता बढ्ने अपेक्षा छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
10 June 2026, 2:47 pm १ मिनेट पढाइ
आकार:
एमसीसी प्रसारण लाइन
Share:

मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिले एमसीसी नेपाल कम्प्याक्टको विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सबस्टेसन र नयाँ दमौली सबस्टेसन तथा २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइनको निर्माण सुरु गरेको छ।

अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान र नेपाल सरकारको १९.७० करोड अमेरिकी डलर लगानीमा यो परियोजना अघि बढेको हो। यसमा विद्युत् प्रसारण पूर्वाधार निर्माण र महत्त्वपूर्ण सडक सञ्जालको स्तरोन्नति कार्य समावेश छ।

बुधबार नुवाकोटको रातमाटे सबस्टेसन निर्माणस्थलमा आयोजित शिलान्यास समारोहमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरू, एमसीसी तथा अमेरिकी दूतावासका प्रतिनिधिहरू, विकास साझेदारहरू, निर्माण व्यवसायी, स्थानीय सरोकारवालाहरू, सञ्चार माध्यम र सामुदायिक अगुवाहरूको उपस्थिति थियो।

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रमको विद्युत् प्रसारण आयोजनाअन्तर्गत तीनवटा उच्च क्षमतायुक्त ४०० केभी सबस्टेसन तथा ३१५ किलोमिटर प्रसारण लाइन निर्माण हुनेछन्।

यो पूर्वाधारले नेपालको राष्ट्रिय विद्युत् ग्रीडलाई सुदृढ पार्नुका साथै प्रसारण अवरोध न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ। यसले घरपरिवार र व्यवसायहरूका लागि विद्युत् आपूर्तिको भरपर्दोपनमा सुधार गर्नेछ र क्षेत्रीय विद्युत् बजारमा नेपालको सहभागिता बढाउन सघाउनेछ।

शिलान्यास गरिएको २९७ किमि लामो प्रसारण लाइन सञ्जालमा लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन खण्ड, रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड पर्दछन्।

निर्माण कार्यमा चार निर्माण कम्पनी संलग्न छन्। टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ कम्पनी लिमिटेडले रातमाटे र न्यू दमौली सबस्टेसन निर्माण गर्नेछ। आशिष–बोझ्लर संयुक्त उपक्रमले ११७ किमि लामो लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा प्रसारण लाइन खण्ड, एञ्जेलिक–स्किपर संयुक्त उपक्रमले ९० किमि लामो रातमाटे–न्यू दमौली प्रसारण लाइन खण्ड र वाइबा–सालसर संयुक्त उपक्रमले ९० किमि लामो न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्ड निर्माण गर्नेछन्।

निर्माण सम्पन्न भएपछि रातमाटे सबस्टेसन र न्यू दमौली सबस्टेसन नेपालका सबैभन्दा ठूला उच्च–भोल्टेज क्षमताका सबस्टेसनहरूमध्ये पर्नेछन्। यी पूर्वाधारले नेपालको विद्युत् प्रसारण सञ्जाललाई सुदृढ बनाउनुका साथै दीर्घकालीन ऊर्जा मागलाई सम्बोधन गर्न र आर्थिक वृद्धिलाई गति दिन सहयोग गर्नेछन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार