पोखराको मित्रमिलन बचत तथा ऋण सहकारी संस्थामा २९ करोड ४६ लाख रुपैयाँ हिनामिना भएको आरोपमा २७ ऋणीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लामो अनुसन्धानपछि वैशाख २८ गते सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझायो। पक्राउ पुर्जी जारी भएका सबै फरार छन्। प्रहरीले उनीहरूको खोजी तीव्र पारेको छ।
कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतका अनुसार, रास्वपा नेता बोधराज रेग्मीसहित प्रतिष्ठित व्यक्तिहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। रेग्मी अघिल्लो प्रतिनिधि सभा निर्वाचनमा स्याङ्जा १ बाट रास्वपाका उम्मेदवार थिए।
प्रहरीका अनुसार, फरार ऋणीहरूमा रोशमाया गुरुङ, प्रतिमा पौडेल (लम्साल), अमृत परियार, कर्णबहादुर रानाभाट, निकिता केसी, करण चौधरी, सीता कार्की, रेमबहादुर बिक, तारा घर्ती, लिलादेवी गुरुङ, सृजना देवी रिजाल कार्की, आशा आले, रुमबहादुर मल्ल, निपेन्द्र कुमार श्रेष्ठ, बसन्त देव नापित र चन्द्रबहादुर विकलगायत छन्।
यसअघि सहकारीका पदाधिकारी, पूर्व रजिष्ट्रार र वडाध्यक्षसहित ३३ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ। जिल्ला सरकारी वकिल कार्यालय कास्कीले पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, राष्ट्रिय सहकारी बैंक पोखराका तत्कालीन प्रबन्धक सन्तोष घिमिरे, पोखरा २१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी र अधिवक्ता जनकल्याण पराजुलीविरुद्ध मुद्दा दायर गरेको छ।
जाहेरीमा सहकारी अध्यक्ष रमण पौडेलसहित पदाधिकारीहरूले बचतकर्ताको रकम मन्जुरीबिनै गायब पारेर रियलस्टेट एजेन्टसँग मिलेमतोमा ठगी गरेको उल्लेख छ। प्रहरीका अनुसार, केही आरोपित फरार छन् भने केही पुर्पक्षका लागि कारागारमा छन्।
डीएसपी बस्नेतले हरेक व्यक्तिको बिगो कायम गरिएको बताए। सरकारी वकिल कार्यालयले थप अनुसन्धानपछि जिल्ला अदालतमा मुद्दा दर्ता गर्नेछ।
