कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना देखिएको छ। मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभावले देशैभर मौसम बदली गराएको छ। उत्तर अन्डमान सागरमा बनेको न्यूनचापीय प्रणाली पश्चिम–उत्तरपश्चिम सर्ने संकेत छ।
हाल कोशी र बागमती प्रदेशका सबै भूभागमा बादल लागेको छ। गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा पनि बदली छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली छ। मधेस प्रदेशमा आंशिक बदली छ। देशका बाँकी भूभाग सफा छ।
कोशी र बागमती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि वर्षा भइरहेको छ। सोमबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भेगमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भेगमा मेघगर्जन र चट्याङसहित वर्षा वा हिमपात हुनसक्छ।
मधेस प्रदेशका साथै कोशी र बागमती प्रदेशका तराई भेगका थोरै स्थानमा वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्नेछ।
मौसमविद्हरूले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएका छन्। असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको प्रक्षेपण छ। असोज १० गते वर्षाको जोखिम तुलनात्मक रूपमा बढी छ। सम्भावित बाढी, पहिरो र सडक अवरोधलाई ध्यानमा राखेर यात्रा तथा दैनिक गतिविधि सञ्चालन गर्नुपर्नेछ।
