रुपन्देही प्रहरीले पेस्तोल र चार राउण्ड गोलीसहित अजय चौधरीलाई पक्राउ गरेको छ। सियारी गाउँपालिका–२ का चौधरीलाई सिद्धार्थनगर नगरपालिका–७ को विद्यापथबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
प्रहरीका अनुसार चौधरीले चोरीको मोटरसाइकलमा नक्कली कागजात तयार गरी बेचबिखन गर्ने गरेको गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।
चौधरीको साथबाट टाइप ५४ जस्तो देखिने एक पेस्तोल, चार राउण्ड गोली, एउटै फोटो भएका दुई ब्लुबुक र चार भारतीय आधारकार्ड बरामद भएको छ।
बरामद हतियार तथा सामग्री कानुनबमोजिम नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए।
