भदौ २३ गते राति मुस्ताङको लोमान्थाङ केन्द्रविन्दु भएर गएको भूकम्पले ढुङ्गा र माटोले बनेका ३० भन्दा बढी घर भत्काएको छ।
वडा नम्बर-५ बाहेक अन्य सबै वडाका अधिकांश घरमा चिरा परेर भत्किने खतरा बढेको छ।
गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङका अनुसार घरबारविहीन बनेका नागरिकलाई तत्काल गाउँकै समाजघर र पालमा राखिएको छ। भूकम्पबाट सबैभन्दा बढी क्षति लोमान्थाङ–३ फुवा र आसपासका बस्तीमा पुगेको छ।
स्थलगत लगत संकलनमा वडा नम्बर-३ का नाम्ग्याल, फुवा, ठिङ्गर, वडा नम्बर ४ का किम्लिङ, चुम्जुङ, नाम्डोक र वडा नम्बर-१ को छोसेर क्षेत्रका ३० घर पूर्ण क्षतिग्रस्त भएको पुष्टि भएको छ। वडा नम्बर २ र ५ मा विवरण संकलन जारी छ।
मङ्गलबार राति ९ बजेर ५३ मिनेटमा गएको भूकम्पपछि नौ पटकसम्म पराकम्पन महसुस गरिएको थियो। लगातारको धक्काले उपल्लो मुस्ताङका बासिन्दा रातभर खुला आकाशमुनि बस्न बाध्य भए।
गाउँपालिकाका अध्यक्ष गुरुङ, उपाध्यक्ष छ्युमी विष्ट, जनप्रतिनिधि, कर्मचारी, प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रतिनिधि विवरण संकलनमा खटिएका छन्।
उपाध्यक्ष विष्टले पीडितको पुनःस्थापना र राहतका लागि सुरक्षाकर्मी परिचालन गरिएको बताइन्।
लोमान्थाङ-५ स्थित ऐतिहासिक छोदे गुम्बाको बाहिरी पर्खालमा पनि क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामचन्द्र तिवारीले भौगोलिक विकटताले क्षतिको पूर्ण विवरण आउन समय लाग्ने बताए।
