सर्वोच्च अदालतले प्रधानन्यायाधीश सिफारिसविरुद्ध परेका तीन रिट दर्ता गर्न अस्वीकार गरेको छ।
संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि त्यसका विरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र डा. प्रेमराज सिलवालले शुक्रबार छुट्टाछुट्टै रिट पेस गरेका थिए।
रिटमा अध्यादेशमार्फत गरिएको व्यवस्थाका आधारमा शर्माको सिफारिस संविधानविपरीत रहेको दाबी गरिएको थियो। प्रधानन्यायाधीशको वरीयता मिचिएको र न्यायपालिकालाई कार्यपालिकाको छायामा राख्न खोजिएको भन्दै अन्तरिम आदेशमार्फत सिफारिस रोक्न माग गरिएको थियो। परिषद् बैठकको सूचनासम्बन्धी कानुनको प्रावधान पनि मिचिएको प्रश्न उठाइएको थियो।
सर्वोच्च अदालतले तीनवटै रिट दर्ता गर्न अस्वीकार गर्ने आदेश भएको जनाएको छ।
