रसुवाको भोटेकोसीमा बाढी आएको एक साता बितिसक्दा पनि सरकारले मानवीय क्षतिको यकिन तथ्यांक संकलन गर्न सकेको छैन। सयौं नागरिक बेपत्ता आफन्तको प्रतीक्षामा रहेका बेला सरकारले क्षतिको यकिन तथ्यांक नभएको जनाएको छ।
गृहमन्त्री सुदन गुरुङले मंगलबार पत्रकार सम्मेलनमा रसुवा, नुवाकोट र धादिङमा बाढीले कति मानवीय क्षति भयो भन्ने यकिन तथ्यांक अहिलेसम्म नभएको बताए। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक हजार ५० शव संकलन भएको र तीन हजार ९१७ जना बेपत्ता भएको उनले जनाए। यद्यपि, यो यकिन तथ्यांक नभएको भन्दै उनले करिब पाँच हजार मानवीय क्षति भएको हुन सक्ने अनुमान व्यक्त गरे।
यो संख्या मोबाइल नेटवर्कका आधारमा अनुमान गरिएको हो। बाढी आएको समयमा सञ्चालनमा रहेका मोबाइल नेटवर्कका आधारमा प्राधिकरणले करिब पाँच हजार मानवीय क्षतिको आकलन गरेको जनाएको छ। स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिलगायत निकायबाट जनसंख्याको विवरण संकलन भइरहेको र त्यसपछि मात्र यकिन संख्या भन्न सकिने प्राधिकरणको दाबी छ।
सरकारसँग जलविद्युत् आयोजनाहरूमा फसेका कामदार र कर्मचारीको विवरणसमेत छैन। बाढीबाट जलविद्युत् आयोजनाहरू सबैभन्दा बढी प्रभावित भएका छन्। सुरुङहरूमा धेरै कामदार फसेको भन्दै आफन्तहरूले उद्धार र खोजीलाई प्रभावकारी नबनाएको गुनासो गरेका छन्। आयोजना निर्माण कम्पनीहरूसँग समन्वय गरेको भए उद्धारमा सहज हुने परिवार र आयोजनाकै अधिकृतहरूको भनाइ छ।
परिवारका सदस्यहरूले सुरुङमा फसेकाहरूको उद्धारका लागि विदेशी टोली आउँदा पनि सरकारले सहयोग नगरेको आरोप लगाएका छन्। गृहमन्त्री गुरुङले भने यसलाई अस्वीकार गर्दै बाढीको दोस्रो दिनमै चिनियाँ र भारतीय उद्धार टोली आएको र भौगोलिक विकटता तथा लेदोसहितको दलदलका कारण काम गर्न कठिन भएको दाबी गरे। माथिल्लो त्रिशूली–१ मा चिनियाँ र दक्षिण कोरियन नागरिक थिए, तर चिनियाँ उद्धार टोली सक्रिय हुन ढिलाइ भयो भने कोरियन टोलीले काम गर्न पाएन।
बाढी प्रभावित क्षेत्रमा प्रभावकारी राहत वितरण नभएको आरोप पनि लागेको छ। नुवाकोटमा राहत थुप्रिए पनि पीडितसम्म पुर्याउन नसकिएको गुनासो छ। प्राधिकरणले ३७ ट्रक खाद्यान्न पठाएको दाबी गरे पनि सडक सञ्जाल नभएका ठाउँमा पुर्याउन कठिन भएको स्वीकार गरेको छ। हवाई माध्यमबाट न्यूनतम खाद्यान्न पुगेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताए।
बाढीबाट विस्थापित तीन हजार १०० जनालाई ३३ वटा अस्थायी शिविरमा राखिएको छ। रसुवादेखि धादिङसम्म ६ हजार ३२० विद्यार्थी प्रभावित भएका छन्। विस्थापितलाई मनोपरामर्श दिन ६५ चिकित्सक परिचालन गरिएको छ।
पहिलोपटक पहिचान नखुलेका शवको डिएनए नमुना राखेर जमिनमुनि गाडिएको छ। करिब एक हजार शव फेला परे पनि अधिकांशको पहिचान हुन सकेको छैन। पहिचान भएका शव परिवारको जिम्मा लगाइएको छ भने अन्यको डिएन परीक्षणपछि लिन सक्ने व्यवस्था मिलाइएको छ। चितवन र पश्चिम नवलपरासीमा भेटिएका शव त्यहीँ व्यवस्थापन गरिएको छ भने काठमाडौं ल्याइएका ८० शव गोकर्णेश्वरको जंगलमा व्यवस्थापन गरिएको छ।
