NM Khabar 9 May 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

राष्ट्रपति पौडेलको आह्वान: कानून दोषीका लागि भय, निर्दोषको सहारा बन्नुपर्छ

राष्ट्रपति रामचन्द्र पौडेलले कानून दिवस २०८३ का अवसरमा कानून दोषीका लागि भय र निर्दोषका लागि सहारा बन्नुपर्ने बताएका छन्। उनले संविधानको मर्मअनुसार नयाँ कानून निर्माण र न्यायमा सहज पहुँचमा जोड दिए।
Laxmi Bhattarai
Laxmi Bhattarai
9 May 2026, 4:31 pm १ मिनेट पढाइ
आकार:
Share:

राष्ट्रपति रामचन्द्र पौडेलले कानून दिवस २०८३ का अवसरमा कानून दोषीका लागि भय र निर्दोषका लागि सहारा बन्नुपर्ने धारणा राखेका छन्। काठमाडौंमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा जोड दिए।

राष्ट्रपति पौडेलले विधि र परम्पराको पालना नभए समाजमा भय उत्पन्न हुने स्पष्ट पारे। उनले सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र थिति दुवै औजार र उपचार भएको उल्लेख गरे। यसलाई आत्मसात गरे मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने उनको भनाइ थियो।

राष्ट्रपति पौडेलले नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवम् कानूनी राज्यको अवधारणाप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको स्मरण गराए। उनले संविधानको मर्मअनुरुप नयाँ कानूनको निर्माण र प्रचलित कानूनमा समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए। आधुनिक पद्धति र प्रविधि प्रयोग गरी आम नागरिकको न्यायमा सहज पहुँच स्थापित गर्न, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन गर्नुपर्ने आवश्यकता औंल्याए।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललगायत उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

Nmkhabar की सरकारी तथा संस्थागत मामिला संवाददाता। मन्त्रिपरिषद्, संसद र सरकारी निकायका आधिकारिक निर्णयको विस्तृत र सटिक रिपोर्टिङ।

सम्बन्धित समाचार