रसुवा बाढीले प्रभावितको उद्धार, राहत र शव व्यवस्थापनमा नेपाल प्रहरी सक्रिय छ। प्रहरीले प्रभावित क्षेत्रमा खोजतलास, उद्धार र राहत वितरणलाई तीव्र पारेको छ।
प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै संगठन विपद्पछिको अवस्था सम्बोधन गर्न अहोरात्र खटिएको बताए। फेला परेका शवहरूको पहिचानका लागि तस्बिर र ट्यागसहितको विवरण संकलन गरिएको छ।
विपद्को मौका छोपी लुटपाटमा संलग्न भएको आरोपमा ३० भन्दा बढी व्यक्ति पक्राउ परेका छन्। उनीहरूबाट चोरीका सामान बरामद गरिएको छ। प्रहरीले प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम राख्न विशेष टोली परिचालन गरेको छ।
