NM Khabar 28 August 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

भोटेकोशी बाढीबारे छलफल गर्न रास्वपाले बोलायो सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको क्षति, उद्धार र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्। बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्नेछ।
Laxmi Bhattarai
Laxmi Bhattarai
27 August 2026, 8:36 am १ मिनेट पढाइ
आकार:
रवि लामिछाने सर्वदलीय बैठक
Share:

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको क्षति, उद्धार र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।

बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा बाढीबाट भएको क्षतिको विवरण, तत्काल गरिने उद्धार कार्य, राहत वितरण र पुनर्स्थापनाका योजनाबारे विस्तृत छलफल हुनेछ। रास्वपा प्रवक्ता जगदीश खरेलले बैठकको पुष्टि गरेका छन्।

यसअघि लामिछानेले रसुवा, नुवाकोट र धादिङमा बाढीबाट प्रभावित नागरिकको जीवनरक्षा र उद्धारलाई पहिलो प्राथमिकतामा राखेर संयमित र जिम्मेवार ढंगले अघि बढ्न पार्टीका नेता कार्यकर्ता र शुभेच्छुकलाई निर्देशन दिएका थिए।

उनले बाढी तथा अन्य विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिम क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेका छन्।

लामिछानेले विपद्बारे सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय र विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार बनाउन अनुरोध गरेका छन्। अप्रमाणित सूचना, हल्ला र अफवाह सामाजिक सञ्जालमा नफैलाउन आग्रह गर्दै उनले गलत सूचनाले उद्धार तथा राहत कार्यमा कठिनाई सिर्जना गर्ने र नागरिकमा अनावश्यक त्रास फैलाउन सक्ने बताएका छन्।

रास्वपाका स्थानीय तहदेखि केन्द्रीय तहसम्मका नेता तथा सदस्यलाई सम्बन्धित स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धार, राहत तथा स्वयंसेवी काममा सक्रिय रूपमा सहभागी हुन पनि लामिछानेले आह्वान गरेका छन्।

विपद्को यस घडीमा नागरिकको जीवनरक्षा, सुरक्षित उद्धार र मानवीय सहयोगलाई सबैको साझा प्राथमिकता बनाउनुपर्नेमा उनले जोड दिएका छन्। बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै उनले सुरक्षित रहन र एकअर्कालाई सहयोग गर्न अपिल गरेका छन्।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार