तीनवटै सरकारी बैंकका अध्यक्षले राजीनामा दिएका छन्।
राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई सहयोग गर्ने उद्देश्यले पदबाट राजीनामा दिएका हुन्। उनीहरूले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा बुझाएका छन्।
अध्यक्षहरूसँगै सरकारले नियुक्त गरेका र अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व भएका सञ्चालकहरूले पनि बुधबार नै राजीनामा दिएका छन्। सरकारले राजनीतिक नियुक्ति पाएका सरकारी बैंकका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेको थियो।
यद्यपि, राष्ट्र बैंक र बैंकका अध्यक्ष तथा सञ्चालकलाई सरकारले ल्याएको अध्यादेशले नछोए पनि सरकारको आग्रहमा उनीहरूले राजीनामा बुझाएका हुन्।
