सिरहा । सिरहाका सीमावर्ती क्षेत्रबाट पछिल्लो दुई महिनामा १ करोड १५ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद भएका छन्। सशस्त्र प्रहरीले निगरानी र गस्ती बढाउँदा लत्ताकपडा, किराना, सुर्ती, मदिरा लगायतका सामान नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिराहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाका अनुसार सोमबार मात्रै जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट १३ लाख ३५ हजार २५१ रुपैयाँ बराबरका भन्सार छली गरी नेपाल भित्र्याइएका तथा भारततर्फ लैजान खोजिएका सामान बरामद गरिएका हुन्।
सीमा क्षेत्रमा खटिएको छुट्टाछुट्टै टोलीले भारतीय नम्बर प्लेटको बिआर ३२ ओ ११३५ नम्बरको मोटरसाइकलमा लोड गरिएको अवस्थामा विभिन्न सामान नियन्त्रणमा लिएको थियो। बरामद सामग्रीमा लत्ताकपडा, किराना सामान, सुर्ती, कस्मेटिक सामग्री, जुत्ता, खेलौना, पेयपदार्थ तथा मदिरालगायत छन्।
चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्रै सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट १ करोड १५ लाख २१ हजार ५२ रुपैयाँ बराबरका अवैध सामान तथा मोटरसाइकल बरामद भएका छन्। गत २३ साउनमा ४५ लाख ७४ हजार ५९ रुपैयाँ बराबरका सामान बरामद गरिएको थियो।
भदौ महिनामा मात्रै ६९ लाख ४६ हजार ९९३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी माडर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। सीमा क्षेत्रमा हुने चोरी पैठारी तथा अवैध निकासी नियन्त्रणका लागि गस्ती, निगरानी र चेकजाँचलाई थप प्रभावकारी बनाइएको छ।
