NM Khabar 9 June 2026
NM Khabar

हामीलाई पछ्याउनुहोस्

स्ट्याण्डर्ड सहकारीका सञ्चालक खेमराज निरौलाद्वारा १९ लाख हिनामिना, सरकारी निकाय मौन

स्ट्याण्डर्ड सहकारीका अध्यक्ष खेमराज निरौलाले बचतकर्ताको झन्डै १९ लाख रुपैयाँ हिनामिना गरी फरार भएको आरोप छ। रौतहटका अनिल कुमार शाहले आफ्नो रकम फिर्ता नपाएको गुनासो गरेका छन्। प्रहरी र अदालतले समेत सहयोग नगरेको पीडितको भनाइ छ।
Arjun Basnet
Arjun Basnet
9 June 2026, 3:47 pm १ मिनेट पढाइ
आकार:
सहकारी ठगी
Share:

पुतलीसडकस्थित स्ट्याण्डर्ड सेभिङ एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्ष खेमराज निरौलाले बचतकर्ताको झन्डै १९ लाख रुपैयाँ हिनामिना गरी फरार भएका छन्। रौतहटका अनिल कुमार शाहले ट्याक्सी र किराना पसलबाट जम्मा गरेको उक्त रकम फिर्ता नपाएको बताए। निरौलाले शक्तिको आडमा सरकारी संयन्त्रलाई प्रभावमा पारेको शाहको आरोप छ।

निरौला केही वर्षअघि प्रहरीद्वारा पक्राउ परी नख्खु जेलसमेत चलान भएका थिए। जेलमा रहँदा उनले बचतकर्तालाई रकम फिर्ता गर्ने आश्वासन दिएका थिए। बाहिर निस्किएपछि उनले रकम फिर्ता नगरी थप पीडित बनाएको शाहले बताए।

दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारी निकायहरूले साथ नदिएको शाहको गुनासो छ। सरकारले गठन गरेको ‘समस्यग्रस्त सहकारी व्यवस्थापन समिति’ ले समेत प्रभावकारी काम नगरेको उनको आरोप छ। सहयोग माग्न जाँदा सरकारी कर्मचारीले साथ नदिएको भन्दै उनले प्रश्न गरे, “हाम्रो पैसा हामीलाई नै दिलाउन सरकारी कर्मचारीले साथ दिँदैनन् भने हामी कहाँ जाने?”

सहकारीले पैसा फिर्ता दिनुको सट्टा मूल्य नपर्ने जग्गालाई उच्च मूल्य कायम गरी बचतकर्तालाई भिडाउन खोजेको थियो। निरौलाका सहयोगी र दलालहरूले जग्गा पास गरिदिने बहानामा पीडितसँग थप नगद माग गर्ने र नदिए पैसा नपाउने भन्दै चुनौती दिने गरेको शाहले बताए।

शाहका अनुसार प्रहरीले जाहेरी लिन मान्दैन। अदालतले सहकारी बोर्डमा जान भन्दै पन्छाइदिन्छ। बोर्डमा जाँदा पनि काम नभएको उनको अनुभव छ। १५ वर्षअघिदेखि रकम फिर्ता पाउन नसकेको र त्यसबेलाको रकम अहिले करोडौँ हुने भए पनि सावाँ समेत नपाउँदा परिवारमा समस्या आएको उनले बताए। उक्त सहकारी यसअघि नै समस्याग्रस्त घोषित भएको थियो।

Arjun Basnet

Arjun Basnet

संवाददाता · NM Khabar

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

सम्बन्धित समाचार