पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सुरक्षाकर्मीको प्रवेश प्रकरणमा नेपाल सरकारले आवश्यक कदम चाल्ने भएको छ। यस विषयमा परराष्ट्र मन्त्रालयले भारत सरकारसँग कूटनीतिक तहमा संवाद अगाडि बढाउने निर्णय गरेको छ।
शुक्रबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता सस्मित पोखरेलले यो जानकारी दिएका हुन्। उनले परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट भारतसँग आवश्यक कुराकानी गरिरहेको र दुवै देशले वार्ताको आवश्यकतालाई स्वीकार गरिसकेको बताए। यसका लागि कूटनीतिक नोट पठाउने र वार्ता गर्ने प्रक्रिया अगाडि बढ्ने उनले स्पष्ट पारे।
प्रवक्ता पोखरेलले यो घटना प्रधानमन्त्रीको अभिव्यक्तिले मात्र नभई वर्षौँदेखि सुस्तामा विद्यमान समस्याहरूको परिणाम भएको बताए। उनले सुस्तामा बसोबास गर्ने नेपाली नागरिकहरूले दशकौँदेखि उक्त भूमिलाई संरक्षण गर्दै आएको र उनीहरूले भोग्दै आएका समस्याहरूलाई सम्बोधन गरिने विश्वास व्यक्त गरे।
