काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवले भिजिट भिसामा घरेलु कामदारका रूपमा विदेशिने महिलाहरूको संख्या राज्यसँग अभिलेख नभएको बताएका छन् ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्रालयको कामकारबाही र आगामी कार्ययोजनाबारे छलफल गर्ने क्रममा मन्त्री यादवले यस्तो चिन्ता व्यक्त गरेका हुन् । उनले घरेलु कामदारका रूपमा विदेश जाने महिला श्रमिकहरूको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अधिकांश महिलाहरू कानुनी प्रक्रियाबाहिर गएर काम गरिरहेको पाइएको बताए ।
मन्त्री यादवका अनुसार, महिला कामदारहरू विशेषगरी भारत लगायतका अन्य देश हुँदै भिजिट भिसा प्रयोग गरेर घरेलु कामदारको रूपमा विदेशिने गरेका छन् । श्रम स्वीकृति नलिई विदेश जाने गरेकाले उनीहरू सरकारी अभिलेखमा नपर्ने र समस्या परेको अवस्थामा सहयोग गर्न पनि राज्यलाई कठिन हुने उनले बताए ।
“घरेलु कामदारमा जाने श्रम स्वीकृति बन्द गर्ने कुरा प्रतिनिधिसभाबाट समितिमा आएको रहेछ । यसमा अध्ययन गर्दा महिला कामदारहरू श्रम स्वीकृति लिएर जान पाएको अवस्था छैन । उहाँहरू कानुनविपरीत भारत हुँदै, अरु देश हुँदै भिजिट भिसा प्रयोग गर्दै घरेलु कामदारको रूपमा गएको देखिन्छ,” मन्त्री यादवले भने, “त्यहाँ गइसकेपछि सरकारको रेकर्डमा देखिँदैन । महिला कामदारहरू बाहिर देशमा गइसकेपछि केही समस्या पर्यो भने उहाँहरूले राजदूतावासमा समेत फोन गर्न सक्नुहुन्न । किनकी उहाँहरूले श्रम स्वीकृति नलिइ गएको अवस्थामा । यस्तो अवस्थामा राज्यले पनि सहयोग गर्न सकेको छैन । डाटा छैन, कसले पठायो ? कसरी गयो केही पनि छैन ।”
उनले ५१ प्रतिशत महिला जनसंख्या भएको देशमा यस्तो अवस्था देखिनु दुःखद भएको उल्लेख गर्दै समस्या समाधानका लागि मन्त्रालयले अध्ययन र अनुसन्धान गरिरहेको जानकारी दिए । घरेलु कामदारको क्षेत्र संवेदनशील र जोखिमपूर्ण भएकाले समस्या पर्दा कामदारलाई ट्र्याक गर्न पनि कठिन हुने उनको भनाइ छ ।
“५१ प्रतिशत महिला भएको हाम्रो देशमा यस्तो अवस्था देख्दा दुखित छु । यसको समस्यालाई समाधान गर्नको लागि रिसर्च पनि गर्दैछु । तर यो एकदमै रिस्की पनि छ । घरेलु कामदारहरू समस्यामा पर्दा ट्र्याक गर्न पनि गाह्रो छ,” मन्त्री यादवले भने ।
