लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका विभिन्न जिल्लामा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका मौसमविद् रोजन लामिछानेका अनुसार वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै गइरहेको छ। उनले मेघगर्जन, चट्याङ तथा वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमबाट बच्न सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।
“हाल पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गइरहेको छ। आवश्यक सावधानी अपनाउनु होला,” लामिछानेले भने। नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको आंशिक प्रभाव छ।
काठमाडौं उपत्यकामा केही समयपछि वर्षा हट्ने सम्भावना छ। लामिछानेका अनुसार देशका विभिन्न स्थानमा स्थानीय अवस्थाअनुसार फरक बादल विकसित भइरहेका छन्।
विभागका अनुसार मंगलबार राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा पनि सामान्यदेखि आंशिक बदलीको सम्भावना छ।
मधेस प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदलीको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने विभागले जनाएको छ।
सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुनेछ।
उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।
