अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट आज अपराह्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्दैछन् ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि बजेटको सीमा १८ खर्ब ९० अर्ब तोकेको थियो । अर्थमन्त्री वाग्लेले आयोगको सीमाभन्दा करिब ३ खर्ब बढाएर २२ खर्बभन्दा बढीको बजेट ल्याउने तयारी गरेका छन् ।
कर्मचारीको श्रेणीगत तलब वृद्धि र केही ठूला पूर्वाधारमा लगानी गर्ने सरकारी नीतिका कारण बजेटको आकार अस्वभाविक रूपमा बढाउन लागिएको हो । चालु आर्थिक वर्षको मध्यकालीन खर्च संरचनाले २१ खर्ब २८ अर्बको बजेट ल्याउन बाटो खोलेको थियो ।
चालु आर्थिक वर्षमा नेपालको कूल गार्हस्थ उत्पादन (जिडिपी) ६६ खर्ब पुगेको छ । सरकारले जिडिपीको ५ प्रतिशतभन्दा बढी अर्थात ३ खर्ब ५० अर्बभन्दा बढी आन्तरिक ऋण लिँदा अर्थतन्त्रले धान्न सक्छ ।
अर्थमन्त्रीले साधारण खर्च घटाउने, पुँजीगत खर्च वृद्धि गर्ने तथा करको दरमा हेरफेर गर्ने गरी बजेट वक्तव्य तयार पारेका छन् ।
