रोशी खोला उर्लियो, बिपी राजमार्ग ठप्प। बेमौसमी वर्षाले रोशी खोलाको बहाब अत्यधिक बढेपछि बिपी राजमार्गको रोशी खण्डमा सवारी आवागमन बन्द गरिएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै मंगलबार मध्याह्न १२:३० बजेदेखि राजमार्ग बन्द गरिएको हो।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक रवीन विष्टका अनुसार, यात्रु तथा सवारीसाधनको सुरक्षाका लागि रोशी खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमनमा रोक लगाइएको छ। Nmkhabarलाई स्रोतले पुष्टि गर्यो।
विष्टले बिपी राजमार्ग हुँदै यात्रा गर्ने सवारीसाधनलाई धुलिखेल, खुर्कोट र नेपालथोकमा रोकेर व्यवस्थापन गरिएको जानकारी दिए। सिन्धुलीको सुरक्षा समितिसँगको समन्वयमा यो कदम चालिएको हो।
केही दिनयता भइरहेको बेमौसमी वर्षाले बिपी राजमार्ग पटकपटक अवरुद्ध हुँदै आएको छ। यसअघि रातिको समयमा लगाउँदै आएको अनिश्चितकालीन बन्दलाई पुनः लम्ब्याइएको छ।
प्रहरीले सबै यात्रुलाई सडकको वर्तमान अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ।
