देशभरका सयौं उद्योगले लामो समयदेखिको भाडा र महसुल नतिरेपछि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले ७ दिने अल्टिमेटम दिएको छ। बालाजुस्थित केन्द्रीय कार्यालयले सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधिभित्र बक्यौता नबुझाए कानुनबमोजिम कारबाही गरी रकम असुलउपर गर्ने चेतावनी दिएको हो।
औद्योगिक क्षेत्रभित्र सम्झौता गरी सञ्चालित उद्योगहरूले जमिन, भवन, विद्युत् र पानीलगायत सेवा प्रयोग गरेबापतको महसुल नियमित बुझाएका छैनन्। पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि बाध्य भएर सूचना निकाल्नुपरेको लिमिटेडले जनाएको छ।
समयमै रकम नउठ्दा औद्योगिक क्षेत्रका पूर्वाधार निर्माण, मर्मत सम्भार र उद्योगहरूलाई प्रदान गरिने सेवा सुविधामा गम्भीर कठिनाइ उत्पन्न भएको छ। लिमिटेडले २०८३ वैशाख मसान्तसम्मको कुल बक्यौता रकमसहित सयौं उद्योगहरूको नाम सार्वजनिक गरेको छ।
