प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका जगेडामा कार्यरत सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सम्पत्ति छानबिन थालेको छ। विभागका एक अधिकृतले पुष्करको सम्पत्तिबारे अनुसन्धान सुरु भएको पुष्टि गरे।
जेठ २१ मा प्रधानमन्त्री बालेन्द्र शाहलाई म्यासेज पठाएको घटनामा प्रहरीले पुष्करलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो। त्यसपछि उनलाई उपराष्ट्रपतिको कार्यालयबाट हटाएर जगेडामा राखिएको थियो। पुष्करले प्रधानमन्त्री शाहको हटलाइन नम्बरमा म्यासेज गरी राजदूत पदको फारम भरेको जानकारी दिँदै सहयोग मागेका थिए। महोत्तरीका पुष्कर र प्रधानमन्त्री शाह एउटै जिल्लाका हुन्।
पुष्करले ‘चेन अफ कमाण्ड’ मिचेर व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री शाहलाई म्यासेज पठाएको प्रधानमन्त्री सचिवालयको दाबी छ। पुष्कर मुख्यसचिव बन्ने दौडमा थिए। सरकारले २०८२ मंसिर ९ मा सुमनराज अर्याललाई मुख्यसचिव नियुक्त गरेपछि उनको अवसर गुमेको थियो। उनी असार २४ मा अवकाशमा जाँदै छन्।
राजस्व सचिव हुँदा पुष्करले आर्थिक लाभ लिएको कागजात र तथ्य प्रधानमन्त्री शाहले फेला पारेको स्रोतको दाबी छ। पुष्कर सामान्य प्रशासन र अर्थ मन्त्रालयको सचिव भइसकेका छन्। त्यसबेला शाह काठमाडौं महानगरका मेयर थिए। पुष्करले प्रहरीसँगको बयानमा दुईबीच कुराकानी हुने गरेको बताएका छन्।
राजस्व सचिव हुँदा कपनमा आलिशान भवन निर्माण गरेको र त्यसक्रममा आर्थिक लाभ लिएर निर्णय गरेको सूचना पाएपछि प्रधानमन्त्री शाहकै निर्देशनमा विभागले उनको सम्पत्तिबारे छानबिन सुरु गरेको हो। विभागका एक अधिकृतले भने, ‘घर निर्माणको समयमा उहाँले गरेका निर्णय र सम्पत्ति विवरण हेरेर स्रोत भेरिफाई गर्नेगरी अनुसन्धान सुरु भएको छ।’
यसैबीच, प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन भएयता तीन पूर्वप्रधानमन्त्रीको सम्पत्तिमाथि पनि अनुसन्धान भइरहेको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ। यो अनुसन्धान २०८२ चैतपछि पनि जारी छ। यस क्रममा पूर्वमन्त्री दीपक खड्कालाई पनि विभागले नियन्त्रणमा लिएको थियो। सर्वोच्च अदालतको आदेशले खड्का अहिले थुनाबाहिर छन्।
भदौ २४ मा भएको आगजनीमा पूर्वप्रधानमन्त्री देउवा र दाहालको घरमा जलेको रकमको टुक्रा भेटिएको थियो। पूर्वमन्त्री खड्काको घरमा पनि त्यस्तै भेटिएको थियो। जेनजी प्रदर्शनका क्रममा आगजनी भएको घर भत्काएर नयाँ संरचना बनाउने प्रयास भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले देउवाको बुढानीलकण्ठस्थित भवन भत्काउन रोक लगाएको छ।
जेनजी आन्दोलनका बेला प्रदर्शनकारीले आगजनी गर्दा डलर र नेपाली रुपैयाँ जलेको अवस्थामा भेटिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले त्यसबेला नै सो रकम संकलन गरी राखेको थियो।
